Friday March 29, 2024 | |

आज यमपञ्चक अन्तर्गत गाई र गोरु पूजा गरिदै

featured-news

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको चौँथो दिन आज मंगलबार गाईको पूजा गरि मनाइँदै छ ।

यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । गाई तिहार यमपञ्चकको चौँथो दिन मनाइने गरिन्छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, लक्ष्मी, गाई र भाइ पूजा गरिन्छ।

आजको दिन गाई मात्र नभएर गोरु र गोवर्द्धन पूजा गर्ने गरिन्छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वास रहेको छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औंसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औंसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।

गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ । आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो –मीठो खान दिने गरिन्छ। गोरुलाई भगवान महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।

साथै आजका दिन गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । हिन्दू धर्म अनुसार भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने गरिन्छ ।

बिहान सम्पूर्ण पूजा गरिसकेर बेलुकी घर– घरमा देउसी खेल्ने गरिन्छ। देउसी खेल्न आएका देउसेहरूलाई नाङलोमा चामल राखि दियो बालेर बिभिन्न प्रकारका खानेकुरा र नगद दिने गरिन्छ । देउसी खेल्न आएका देउसेहरूलाई खुशी पार्नसकेमा उनीहरूले आशिर्वाद दिने र आशिर्वाद लाग्ने धार्मिक विश्वाश छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार