Wednesday April 17, 2024 | |

साझा प्रधानमन्त्रीको रूपमा काम गर्ने अवसर प्राप्त भएको छः प्रधानमन्त्री प्रचण्ड

featured-news

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलको साझा प्रधानमन्त्रीका रूपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताएका छन्।

गोरखा उद्योग वाणिज्य संघको आयोजनामा सदरमुकाममा बुधबारदेखि सुरु भएको ११औं गोरखा महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन गर्दै उनले साझा प्रधानमन्त्रीका रूपमा काम गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताए। प्रधानमन्त्री दाहालले यसलाई आफूले एउटा ठूलो चुनौती र अवसरका रूपमा लिएकोसमेत उल्लेख गरे।

प्रधानमन्त्री दाहालले अब देशको विकास र समृद्धिलाई गति प्रदान गर्नेसमेत बताए। उनले सार्वजनिक तथा निजी क्षेत्रको योगदान र पहल विना अर्थतन्त्रलाई गति दिन नसकिने भन्दै त्यसका लागि सहकार्य गरेर अघि बढ्ने बताए। प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना, आरघाट–रोइला सडकखण्ड निर्माण, पालुङटार विमानस्थल सञ्चालनलगायतका कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाए।

‘विकासका अधुरा परियोजनालाई अगाडि बढाउने र देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरा मेरो प्राथमिकतामा छ,’ उनले भने, ‘ ऐतिहासिक अवसरलाई पूरा गर्न निरन्तर अगाडि बढ्नेछु।’

प्रधानमन्त्री दाहालले निर्वाचनका क्रममा आफूले गरेका प्रतिबद्धतलाई पूरा गर्ने बताए। ‘निर्वाचन अभियान दौरानमा तपाईंहरूको अगाडि गरेको वाचा कबुलहरू राम्रैसँग सम्झना छ,’ प्रधानमन्त्री दाहालले भने, ‘गोरखाको जिल्लाको जनप्रतिनिधिका रूपमा निर्वाचित भएर झन्डै राष्ट्रिय सहमतिको प्रधानमन्त्री बन्न पाउँदा मलाई गर्व पनि छ।’

उनले गोरखा जिल्लाका जनताले आफूलाई निर्वाचित गराएर सबै नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त भएको भन्दै गोरखाका मतदाताहरूलाई धन्यवादसमेत दिए।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार