Sunday May 26, 2019 | |

कानूनी शासनलाई ‘थ्रेट’ दिने गुण्डाराज, २ सय ५० बढी गुण्डा निगरानीमा (सूचीसहित)

featured-news

काठमाडौं–  लामो राजनीतिक अस्थिरतालाई अन्त्य गर्दै स्थिर राजनीतिक व्यवस्था लागू भएपछि देशमा शान्ति र अमनचयन कायम हुने आम सर्वसाधारणको अपेक्षा थियो । तर, राजनीतिकै आडमा गुण्डागर्दी गर्दै आएको एक जमातले देशको कानूनी राजलाई प्रश्न चिन्ह उठाउँदै आएको छ । शान्ति सुरक्षाको जिम्मेवारी पाएको प्रहरीले अशान्ति फैलाउने, गुण्डागर्दी गर्नेको नामावली तयार पारेपनि राजनीतिक छत्रछायामा मौलाएको गुण्डागर्दी नियन्त्रणका लागि कुनै कदम चाल्न सकेको छैन ।

स्वभाविक रुपमा कानूनलाई हातमा लिएर सर्वसाधारणलाई धम्काउने, थर्काउने, तर्साउने र आतंक सिर्जना गर्ने शैली नै गुण्डागर्दी हो । यसरी समाजमा आतंक फैल्याएर आफ्नो स्वार्थ पुरा गर्ने केही गुण्डा नाइके प्रहरी इन्काउन्टरमा मारिए । तर, गुण्डागर्दीको जालो समाप्त हुनुको साटो फैलँदै गयो, घटेन । अहिले पनि मुलुकमा भुसको आगो झै गुण्डाहरुको दबदबा चलिरहेको छ । बाहिर नदेखिएपनि भित्रभित्रै गुण्डाराज मौलाइरहेको छ।

बैशाख १७ गते, अपरिचित नम्बरबाट निरन्तर रुपमा निर्माण व्यवसायीहरुलाई ज्यान मार्ने धम्की आएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन नै गरेर सरकारसँग सुरक्षाको माग गर्‍यो । महासंघका अध्यक्ष रवि सिंहका अनुसार २५ जना भन्दा बढी निर्माण व्यवसायीहरुलाई पैसा नदिए मारिदिने सम्मको धम्की आएको थियो।

निर्माण व्यवसायीहरुमाथि आएको धम्की महासंघका तत्कालिन अध्यक्ष शरद गौचनको हत्या आरोपमा जेलमा रहेका समीरमानसिंह बस्नेत समूहले दिएको भन्ने प्रहरीले प्रारम्भिक निश्कर्ष निकाले पनि घटनाको आधिकारिकता बाहिर ल्याउन सकेको छैन । पछिल्लो केहि साता यता निर्माण व्यवसायीमाथि आएको यो धम्कीको घटनाले मुलुकमा भित्र भित्रै गुण्डागर्दी सल्बलाईरहेका छन् भन्ने पुष्टी गर्छ। प्रहरी प्रवक्त उत्तमराज सुवेदी भन्छन्-‘पहिले/पहिले जस्तो संगठित रुपमा गुण्डाहरु सक्रिय नभएता पनि अहिले पनि गुण्डागर्दी भने कायमै छ।’

हुन त प्रहरीले केहिमहिना अघिदेखि राजधानीलगायत देशभरका गुण्डाहरुको सूची नै तयार गरेर एक्सन शुरु गरेको छ । प्रहरीको सूचीमा गुण्डा नाइकेमा मिटरब्याजीदेखि लुटेरासम्म छन् । महानगरीय अपराध महाशाखाका प्रमुख, एसएसपी धिरजप्रताप सिंहका अनुसार, अहिले प्रहरीले गुण्डाको ग्रेड छुट्याएर निगरानी बढाएको छ । उनि भन्छन्-‘कानूनलाई मुठ्ठीमा लिएर समाजमा आतंक फैलाउने कसैले पनि उन्मुक्ति पाउँदैनन् । त्यस्ता व्यक्ति ढिलो चाँडो कानूनी दायरामा आउँछन् ।’

प्रहरी स्रोतका अनुसार, अहिले राजधानीलगायत आसपासका जिल्लाहरुमा मात्र २ सय ५० को हाराहारीमा गुन्डाहरु सक्रिय छन् । उनीहरुको पेशा, दैनिक गतिविधि, सम्पर्क सम्बन्ध, उजुरीलगायतका आधारमा प्रहरीले सूची तयार गरेको छ ।

यस्तो छ प्रहरीको गोप्य सूची

 

त्यस्तै प्रहरीले अरु गुन्डाका नाइकेलाई निगरानीमा राखेको छ । उच्च निगरानीमा रहेका गुन्डा नाइकेको तुलनामा निगरानीमा रहेकाको संख्या धेरै छ । प्रहरीले खबरहबलाई उपलब्ध गराएको निगरानीका गुन्डा नाइके बाहेक पनि धेरै सूचीबद्ध रहेको प्रहरीले जनाएको छ ।

३० जनाको गुण्डा समूह

प्रहरी अनुसन्धान अनुसार, हत्या अभियोगमा दुई बर्ष कैद भुक्तान गरी छुटेका राजु गोर्खाली मातहत तीन दर्जन गुण्डा संगठित छन् । विजय कुमार गच्छदारको राजनीतिक संरक्षण पाएर पनि हातहतियार मुद्दामा पुर्पक्षका लागि जेल जीवन बिताइसकेका काभ्रेली समूहका नाइके गणेश लामाको नेतृत्वमा पनि करिव तीन दर्जन गुण्डा सक्रिय छन् ।

त्यस्तै चक्रे भनिने मिलन गुरुङको समूहमा करिव ३५ गुण्डाहरु सक्रिय छन् । बाघे लामाको समूहमा ११ सदस्य छन् । अर्का गुण्डा नाइके प्रवीण प्रधानको समूहमा १० सदस्य छन् । त्यस्तै मिनकृष्ण महर्जन, समीरमान सिंह बस्नेत, रोज राणा, दावा लामा, राधे भण्डारी, साजन महर्जन, अभिमानसिंह बस्नेत, आशिष राई, युद्ध लामा, अनिले हेक्का, कृष्ण खड्का लगायतले पनि सानो सानो गिरोह बनाएर धन्दा चलाइरहेका छन् ।

राजधानी बाहिर पनि अहिले सिन्धुपाल्चोकमा केही नेताको आडमा सगुन श्रेष्ठको समुहले आतंक मच्चाइरहेको भन्दै प्रहरीले निगरानी बढाएको छ । शुरुमा माओवादीको आशिर्वादामा हुर्किएका सगुनलाई अहिले सिन्धुपाल्चोका चल्ताफुर्ता नेपाली काँग्रेसका एक नेताले संरक्षण गरेको बुझिएको छ । प्रहरी स्रोतका अनुसार, सगुन समुहबाहेक बमबहादुर श्रेष्ठ, निरन्जन खड्का, राहजु श्रेष्ठ, प्रेम श्रेष्ठ, रवि सिलवाललगायतले पनि छुट्टै समुह बनाएर धन्दा चलाइरहेका छन् ।

प्रहरी र नेताको संरक्षण

प्रहरी र गुण्डाबीच हुने गरेको सहकार्य कुनै नौलो विषय होईन । स्रोत अनुसार काठमाडौंमा गुण्डाहरु मार्फत हुने ८५ प्रतिशत काममा कुनै न कुनै प्रहरीको प्रत्यक्ष वा अप्रत्यक्ष दुवै सहयोग हुने गरेको छ ।

पूर्वडिआइजी हेमन्त मल्ल भन्छन्-‘कुनैकुनै घटनामा प्रहरीको संलग्नता अवश्य भेटिएको छ । तर, संलग्नलाई कारबाहि भएको पनि छ । संगठनको केहि विभागीय स्वार्थ रहन्छ । उनीहरुसँग सुचना हुन्छ त्यसका लागि प्रयोग गरिन्छ।’ पूर्वडिआइजी मल्लका अनुसार, नाम कहलिएका गुन्डा तथा गुन्डा नाइकेहरुलाई कुनै न कुनै रुपमा राजनीतिक संरक्षण छ । चाहे जुनसुकै राजनीतिक दल होस् त्यो गुन्डा संरक्षण गर्नेमा अछुतो छैन ।

आपराधिक मुद्दामा थुनामा परे पनि कतिपय गुण्डाहरूको कनेक्सन बारे दलका शीर्ष नेताहरू मात्र होइन प्रहरीका उच्च अधिकृतसमेत बोल्न चाहँदैनन् । स्रोतका अनुसार, छहारी दिएका दलका शीर्ष नेतृत्व मात्र होइन प्रहरी र मुद्दामा आफ्नो तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई समेत गुण्डाहरूले आर्थिक सहयोग गरेका छन् ।

हुनपनि २०४६ पछि जरा गाडेको गुण्डातन्त्रले अहिले राज्यको प्रशासनीक तहलाई प्रभावित पार्ने सम्मको हैसियत बनाइसकेको छ । गुण्डा नाइके पृष्ठ भूमीका दिपक मनाङ्गे भनिने राजीब गुरुङ माननीय नै बनिसकेका छन् । गुण्डातन्त्रलाई मजबुत बनाउनेमा केही राजनीतिक दलका नेता र केही भ्रष्ट प्रहरी अधिकृतहरूको ठूलो भूमिका छ । गुण्डाहरुलाई प्रहरीदेखि अन्य नियमनकारी निकाय तथा राजनीतिक नेतृत्वले समेत दुहुनो गाई ठान्दा गुण्डाराजले झन धेरै प्रश्रय पाएको हो ।

प्रहरी प्रवक्ता सुवेदीका भन्छन्-‘गुण्डागर्दीमा संलग्न ब्यक्तिले कहिं न कहिं संरक्षण खोज्छ । त्यसलै त्यसमध्ये केही राजनीतिक व्यक्तिको संरक्षणमा पुगेको पाइएको छ । तर, संरक्षणको आडमा कुनै पनि गुण्डाले उन्मुक्ति पाउँदैन । त्यसलाई कानुनको दायरामा ल्याइन्छ ।

हुन त राजनीतिक संरक्षणकै भरमा गुण्डाहरु बच्न सक्दैनन् भन्ने कुराचाहिँ प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइकेहरुबाट पनि पुष्टी भएको छ । एमाले निकट मानिएका दिनेश अधिकारी(चरी), कांग्रेस निकट मानिएका कुमार घैंटेसमेत प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

गुण्डाले कमाउने क्षेत्र मिटरव्याजदेखि असुलीसम्म

राजधानीलगायतका जिल्लाहरुमा हुने ठेक्कापट्टाको कमिशन नै गुण्डानाइके र आसेपासेहरुको मुख्य आयस्रोत हो। यसको अलवा अबैध रुपले सञ्चालान भएका बालुवा खानी, क्रसर उद्योग, ढुगाखानी, निमाणधीन हाईड्रोलगायतमा सुरक्षाका नाममा गुण्डाहरुले हप्ता असुली गर्दै आएका छन् ।

प्रहरी अनुसन्धान अधिकारीहरुका अनुसार, केही गुण्डानाइकेहरु ‘क’ बर्गका ठेकदारका रुपमा स्थापित बनिसकेका छन। अन्य गुण्डा र तिनका सदस्यहरुको धन्दा अहिले टेण्डरको कमिशनको लागी ठेकदारलाई फोन गरेर थर्काउने, मिटर व्याजमा पैसा लगाउने, उठाउने, कागज गराउने, चेक कटाउने जस्ता काम गर्दै दिन बित्छ ।

अर्कातिर दिनलाई छोडेर रातमा बढी रमाउँछन् गुण्डा नाइकेहरु । पूर्वडिआइजी मल्लका अनुसार, गजल, डिस्को, डान्स, पप जस्ता रात्रिकालीन व्यवसायमा कतिपय गुण्डा नाइकेहरु आफैं आबद्ध छन् । राजधानीका ठमेल, सुनधारा, बसपार्क क्षेत्रका अधिकांश रात्रिकालीन व्यवसायमा अपराधीक समुहका नाईके तथा उनिहरुका आसेपासेकै दबदबा हुने प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गुण्डागर्दीको उजुरी प्रहरीमा पुग्दैन

गुण्डागर्दी चलाउनेहरुविरुद्ध प्रहरीमा उजुरी नै नपुग्ने गरेको पाइएको छ । महानगरीय प्रहरी कार्यालय प्रमुख डिआइजी शैलेश थापाका अनुसार, गुण्डाबाट पीडित भएकाले त्रास कै कारण प्रहरी समक्ष उजुरी दिँदैनन् । उजुरी गरे अझै संकट पर्ने त्रास पीडित सर्वसाधारणमा हुने गरेको छ । जसका कारण धम्की तथा त्रास आफैंमा लुकाउने गरेको पाइएको छ । प्रहरी स्रोत भन्छ – कुनै गुण्डाविरुद्ध उजुरी पर्‍यो र प्रहरीले समात्यो भनेपनि राजनीतिक पहुँच र पैसाका कारण कारवाहीमा समस्या हुन्छ ।

प्रहरी अनुसन्धान अधिकारीहरुका अनुसार, कतिपय जेलमा परेका गुण्डानाइकेहरुले समेत भित्रैबाट आपराधिक धन्दा चलाएका छन् । जे भएपनि गुण्डागर्दीले न त यसमा लाग्नेहरुको भलो गर्छ नत अरुको नै । त्यसैले गुण्डागर्दी नियन्त्रणका लागि नियमनकारी निकाय निर्मम बन्नै पर्छ । किनकी यो कानूनी राज हो गुण्डाराज होइन ।

Source  khabarhub

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार