Saturday March 30, 2024 | |

‘आरतीमा राष्ट्रियगान अपमान हो’

featured-news

काठमाडौं - सातदोबाटोका लेखनाथ अधिकारी पशुपतिनाथको आरतीगान सकेसम्म छुटाउँदैनन्। कार्यालयको काम सकिएपछि उनी साँझपख आरती हेर्न पशुपतिनाथ पुग्छन्। बुधबार साँझ पनि उनी पशुपतिनाथको आरतीगानस्थलमा भेटिए। आरतीका पारखी अधिकारीले बुधबार पशुपतिनाथ एवं बागमती गंगा संगीतमय सेवा सन्ध्या आरती समितिसँग अनौठो प्रश्न तेस्र्याए, ‘आरतीमा राष्ट्रियगान कस्ले मिसाएको ?’

माथिल्लो निकायको आग्रहले राष्ट्रियगान बजाएको जवाफ समितिका सहसचिव दुर्गाप्रसाद खतिवडाको थियो। त्यसपछि उनी छेउ लागे। अधिकारले मात्रै होइन हिजोआज आरती किन बजाएको भन्ने प्रश्नको जवाफ दिन उनलाई खतिवडालाई भ्याइनभ्याइ छ। केहीदिन अघिदेखि आरतीगानमा राष्ट्रियगान बजाउन थालिएपछि खतिवडामाथि बुद्धिजिवी र संस्कृतिविद्हरुले औंला उठाए। कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डन, राष्ट्रकवी माधव घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी र हरिराम जोशीलगायतकाले यो काम नसुहाउँदो भएको टिप्पणी गरे।

पशुपति क्षेत्र विकास कोषको आदेशमा बजाउन थालिएको राष्ट्रियगान भदौ १३ गतेदेखि २१ गतेसम्म बज्यो। थेगीनसक्नु आलोचना र टिप्पणी आएपछि कोषले २१ गतेदेखि नै राष्ट्रियगान बजाउन रोक्यो। एकातिर राष्ट्रियगानको अपमान र अर्कातिर घाटमा दागबत्ति दिन आउने शोकाकूलप्रति पीडा थप्ने काम भएको आरोप संस्कृतिविद्हरुको छ।

संस्कृतिविद् सत्यमोहन जोशीले पशुपतिनाथको आरतीमा राष्ट्रियगान बजेको सुन्दा आफूलाई अनौठो लागिरहेको सुनाए। उनले शासकलाई मन लाग्यो भने जे पनि गर्न मिल्दो रहेछ भन्ने उदाहरण दिँदै यो धर्म, संस्कृति र राष्ट्रियगानप्रतिको अपमान भएको बताए। ‘धार्मिक प्राथना गर्ने, नित्यकर्म गर्ने, आफूलाई एकाग्र गराउने, चिन्तन गर्ने, दत्तचित्त हुने ठाउँमा राष्ट्रियगान बजाउनु राम्रो होइन,’ उनले सुनाए, ‘अझ पशुपतिनाथ क्षेत्रको बागमतीमा जतिबेला पनि दागबत्ती बलिरहेको हुन्छ, यस्तो ठाउँमा राष्ट्रियगान बजाउनु राष्ट्रियगानको दुरुपयोग हो।’ उनले पछिल्लो समय धर्म संस्कृतिमा राजनीतिकरण हुँदै जाँदा मौलिकता र चिनारी खतरामा परिरहेको बताए।

पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धेरैतिरबाट सल्लाह सुझाव आएपछि भदौ १३ गतेदेखि पशुपति क्षेत्र विकास कोषसँग राष्ट्रियगान बजाउन आग्रह गरेका थिए। मन्त्रीकै आदेशमा बजाउन सुरु गरिएको राष्ट्रियगान बन्द हुँदा पर्यटन, तथा संस्कृति मन्त्री यसबारे बेखबर छन्। समितिका सहसचिव दुर्गाप्रसाद खतिवडाले कोषका सदस्यसचिवको मौखिक आदेशलाई पालना गरेर राष्ट्रियगान बजाउन सुरु गरेको बताए। तर सबैले गाली गरेपछि बन्द गरिएको उनको भनाइ छ। ‘यो विषयमा छलफल नै नगरी हामीलाई राष्ट्रियगान बजाउन लगाइयो। घाटमा राष्ट्रियगान बज्दा धेरैले आलोचना गरे। त्यसपछि हामीले बन्द ग¥यौं,’ उनले भने, ‘यदी मन्त्रालयले लिखित दस्तावेज पठायो र सुरक्षा दियो भने फेरि पनि राष्ट्रियगान बजाउन सकिन्छ तर सबैको सल्लाह सुझाव लिएर मात्रै।’

उनका अनुसार आरतीगानमा राजनीतिकरण भएको छ। कोषले नै यसरी घाट नजिकै राष्ट्रियगान बजाउनु निन्दनीय मानिएको छ। अनवरत १३ वर्षदेखि सञ्चालन हुँदै आएको पवित्र गंगा आरतीगानमा यसले सानो धक्का पारेको उनको भनाइ छ।

पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव गोविन्द टण्डनले पशुपतिनाथ परिसरमा राष्ट्रियगान बजाउनु नसुहाउँदोे भएको बताए। उनले शोकाकूल मानिसहरूको भीडभाड हुने क्षेत्रमा राष्ट्रगान बजाउनु शोकाकूलमाथि पीडा थप्ने काम र राष्ट्रियगानको चरम दुरुपयोग भएको टिप्पणी गरे। नजिकै घाट र साझँपख मन बहालाउन पुग्नेहरुलाई राष्ट्रियगानको वास्ता नहुने उनको भनाइ छ। ‘अहिलेसम्म नभएको प्रयास पशुपतिक्षेत्रमा यसपटक भयो।

यसलाई मैले राष्ट्रियगानप्रतिको अपमान र शोकाकूल प्रतिको बेवास्ताको रुपमा लिएको छु,’ उनले भने, ‘धेरै मानिसहरु भेला भएको सभासमारोह वा कुनै राजनीतिक कार्यक्रममा राष्ट्रियगान बजाउनु ठीक होला तर पशुपतिनाथमा राष्ट्रियगान बजाउनुको कुनै औचित्य छैन। यसले राष्ट्रियगानलाई हल्का बनाइदिन्छ।’ राष्ट्रगानको दुरुपयोग रोक्नको लागि सरकारले छुट्टै कार्यविधि र कार्यनीति बनाउनुपर्ने उनको सुझाव छ। ‘धर्म संस्कृतिमाथि प्रहार हुनु राम्रो होइन, यी अति नै संवेदनशील विषय हुन्। त्यसकारण सरकारले यसबार सबैको रायसुझाव लिएर संस्कृतिको मर्म र महत्वलाई घट्न दिनु हुँदैन,’ टण्डनले भने।

संस्कृतिविद् हरिराम जोशीले आरतीगानका राष्ट्रियगान मिसाउन नहुने बताए। उनले नजिकै घाट भएको ठाउँमा राष्ट्रिय गान बजाउँदा मृतकपक्षलाई पीडा थप्ने र राष्ट्रगानको महिमा कम हुने जानकारी दिए। ‘अहिले धर्ममाथि विस्तारै राजनीतिक प्रहार भइरहेको छ। विशुद्ध धार्मिक र घाट क्षेत्रमा राष्ट्रियगान बजाएर त्यसको दुरुपयोग गर्नुहुन्न,’ उनले भने।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले माथिल्लो निकायबाट निर्देशन आएपछि आरतीगानमा राष्ट्रियगान मिसाउन थालिएको बताए। उनले राष्ट्रियगान सञ्चालन गर्र्दै आएको गंगा आरती टिमलाई मौखिक निर्देशन दिएर आरतीमा राष्ट्रगान बजाउन थालिएको बताए। ‘हामीले औचित्य ख्याल गरेर बजाउन निर्देशन दिएका छौं,’ उनले भने, ‘अहिले आरतीमा राष्ट्रियगान बजाउन छाडियो भन्ने सुन्नमा आएको छ। यसबारे आरती टिमसँग बसेर पुनर्विचार गर्छौं।’

राष्ट्रियगान बजाउने निर्णय कस्ले ग-यो ?

पशुपतिनाथमा राष्ट्रियगान बजाउने निर्णय कस्ले र कसरी ग-यो भन्ने विषयमा आरतीगान हेर्न पुग्ने धेरै भक्तजनलाई थाहा छैन। राष्ट्रियगान किन सुरु गरियो भनेर लिखित जवाफ दिने आधार कोष र आरतीगान गर्दै आएको पशुपतिनाथ एवं बागमती गंगा संगीतमय सेवा सन्ध्या आरती समितिलाई समेत छैन। यी दुवैसँग कुनै लिखित पत्र छैन। यो अभ्यास पर्यटनमन्त्री योगेश भट्टराईको ठाडो आदेशमा पालना गरिएको थियो। मन्त्री भट्टराईले केही युवाहरुबाट सुझाव आएपछि कोषका सदस्यसचिव प्रदीप ढकाललाई फोन गरी १३ गते देखि नै राष्ट्रियगान बजाउन लगाएका थिए। तर, मन्त्रालयले कोषलाई कुनै लिखित पत्र भने पठाएको छैन।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार