Saturday April 20, 2024 | |

कुलमानको चुनौती : भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार छु

featured-news

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् ।
घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए/नभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको पनि स्पष्ट पारे ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि घिसिङले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिएका हुन् । 

मैले कुनै भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार छु, (छानबिन) सम्बन्धित निकायले गर्ला’ कुलमानले भने ‘अनावश्यक चार्ज नगर्नुहोला । सांसद भएँँ भन्दैमा अनावश्यक चार्ज नगर्नुहोला, सबैकुरा छानबिन भएको छ, सम्बन्धित निकायले छानबिन गरेको छ ।’

कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराए । उनले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानबिन समिति गठन गरेर कामलाई अघि बढाइएको पनि बताए ।

कुलमानको दम्भ बढेको छ : सांसद मोदी

सार्वजनिक लेखा समितिमा प्राधिकरणले बितरण गरेको डेडिकेटेड फिडरको बक्यौता असुली सम्बन्धमा छलफल थियो । बैठकमा प्राधिकरणको तर्फबाट कुलमानले आफ्नो भनाइ राखिसकेपछि सभापति भरत शाहले सांसदहरुलाई बोल्ने समय दिए । त्यसपछि सांसद मोदीले लोडसेडिङ हटाएको जस लिएर कुलमानले प्राधिकरणमा भ्रष्टाचार गरिरहेको आरोप लगाए ।

जे गल्ती गरे पनि लोडसेडिङ हटाएको जस लिएर उम्किन्छु भन्ने लोभमा कुलमानमा दम्भ बढेको आरोप उनको थियो । खासगरी स्वदेशी उत्पादन बढाउनुको साटो कमिसनको खेलमा भारतबाट विद्युत आयात गरी लोडसेडिङ हटाएको मोदीले जिकिर गरे ।

कुलमान आइसकेपछि पनि डेडिकेटेड लाइन लिएका उद्योगमा किन बेलैमा बिल नपठाएको भन्दै उनले प्रश्न गरेका थिए । त्रिशुली थ्री बी हव प्रसारण लाइन आयोजना स्थलमा स्थानीयसँग विवाद गर्दै कुलमानले थुनिदिन्छु भनेको भन्दै मोदीले यौटा सर्वसाधारणलाई प्रधानमन्त्रीले त थुन्छु भन्न पाउन्न, उहाँ कोहो ? भन्दै प्रश्न गरे ।

कुलमानले भने : आयोजनामा सांसदकै अवरोध छ

सांसदहरुले बोल्ने पालो सकिएपछि सभापति शाहले उर्जा सचिव दिनेश घिमिरेलाई बोल्ने पालो दिए । तर, कुलमान अगाडि नै बोल्न चाहे । सभापतिले पहिला सचिवलाई नै बोल्ने पालो दिए । सचिव बोलिसकेपछि कुलमानले बोल्ने पालो पाए । त्यसपछि कुलमानले डेडिकेटेड फिडरसम्बन्धी जवाफ दिएपछि आफूमाथि लागेको आरोपको खण्डन गर्न थाले ।

सांसदजस्तो पदमा बसेको व्यक्तिले यत्तिकै आरोप लगाउने कि प्रमाण सहित बोल्ने ? उनले मोदीलाई भने । हामी इमानदारी साथ काम गरिरहेका छौ, गल्ती गरेको भए प्रमाण ल्याउनुस्, जुनसुकै कारवाही भोग्न तयार छु । उनी आक्रोशित भए, कतिपय विकासका काममा अल्झिएका मुद्दा सल्टाउन माननीयहरुले सहयोग गर्नुस्, त्यो आयोजनामा माननीय कै अवरोध छ । यसरी विकास हुदैन ।’

उनले त्यति भनिसकेपछि सांसद मोदी आक्रोशित हुन थाले । सांसदका अगाडि यसरी बोल्ने, हेर्नुस त सभापति ज्यू, उनले सभापतिको ध्यानाकर्षण गराए । सभापतिले मोदिलाइ थामथुम पारे । त्यसपछि अलि शान्त बनेका कुलमानले प्राधिकरण इमानदारीसाथ काम गरिरहेको भन्दै छानबिन समितिको प्रतिवेदन आए पछि सबै प्रतिवेदन समितिमा बुझाउने बताए   ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार