Friday April 19, 2024 | |

को बन्ला ‘प्रेम गीत ३’ मा प्रदीपकी नायिका ?

featured-news

काठमाडौं – केही वर्ष अघिको सफल फिल्म ‘प्रेम गीत’को तेस्रो सिरिजको रुपमा निर्माण हुन लागेको ‘प्रेम गीत ३’ अहिले छायाँकनको तयारी भइरहेको छ । आगामी दशै अगाडि छायाँकनमा जाने तयारीमा रहेको फिल्मको लागि निर्माण युनिट अहिले अडिसन मार्फत् नायिका छनौटमा छ ।

फिल्म निर्माण ब्यानर आशुसेन फिल्मस्ले फिल्मको हिरोइनका लागि अडिसन आह्वान गरेको थियो । जसमा १८ वर्ष देखि २५ ननाघेका युवतीहरुले अडिसन दिन सक्ने बताइएको थियो । उक्त अडिसनमा  २ हजार ७ सय १४ जनाले आवेदन दिएको थिए । ती अन्तिम चरणको छनौटका लागि उत्कृष्ट २५ युवती छानिएको निर्माता सन्तोष सेनले जानकारी दिए ।

निर्माता सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, छायाँकार राजेश श्रेष्ठलगायतको टिमले उत्कृष्ट २५ युवती छानेका हुन् । उत्कृष्ट २५ मा छानिएका मध्येबाट क्षमता, लुक्स, उचाई, सुन्दरताको मापन गरेर एकलाई ‘गीत’ क्यारेक्टरमा छान्ने निर्माता सेनको भनाई छ ।

फिल्ममा अभिनेता प्रदीप खड्का शीर्ष भूमिकाको लागि फाइनल भइसकेका छन् । यस अगाडिको दुई सिरिजमा पनि मुख्य अभिनेता उनी नै थिए ।

‘गीत’ को क्यारेक्टरका लागि उत्कृष्ट २५ मा छानिएका प्रायः युवतीहरुले फिल्म र म्यूजिक भिडियोमा काम गरिसकेका छन् । एलिशा शर्माले ’चिँ मुसी चिँ’ बाट फिल्ममा डेब्यू गरेकी थिइन् । भने, ’बोल माया’ बोलको गीतबाट चर्चामा आएकी अञ्जली अधिकारी पनि उत्कृष्ट २५ मा छनोट भएकी छन् । करुणा श्रेष्ठले पनि फिल्म ’सय कडा दश’ मा अभिनय गरिसकेकी छन् ।

यस्तै, ‘बुगी वुगी’ की विजेता कविता नेपाली पनि उत्कृष्ट २५ मा परेकी छिन् । उत्कृष्ट २५ मा छानिएकी मोडल क्रिस्टिना थापाले दर्जनौं गीतमा मोडलिङ गरेकी छन् । उनले अभिनय गरेको भिडियो मध्ये गायक सुनिल गिरीको ‘को होला त्यो ?’ बोलको गीत निकै चर्चित भएको थियो । यसमा उनले अभिनेता पल शाहसँग रोमान्स गरेकी थिइन् ।

लिड हिरोइनका लागि आवेदन दिएर उत्कृष्ट २५ मा छनोट भएकी लाक्पा शेर्पा पनि मोडल हुन् । यस्तै, पूजा तिवारी फिल्म ‘बेबी आई लभ यू’ बाट अभिनय यात्रामा होमिएकी थिइन् । गीतको भूमिकाका लागि उत्कृष्ट २५ भित्र पर्न सफल ६ युवती परिचित अनुहार भए पनि बाँकी विल्कुलै नयाँ अनुहार हुन् । यीमध्ये को प्रदीपको हिरोइन हुनेछन् ? धेरैलाई यसको प्रतिक्षा छ ।

हरेक पार्टमा लिड अभिनेत्री र निर्देशक परिवर्तन गर्दै आइरहेका निर्माता सन्तोषले ‘प्रेमगीत ३’ लाई आफैंले निर्देशन गर्दैछन् । उनलाई छेतेन गुरुङले निर्देशनमा सघाउँदैछन् । फिल्मको कथा छेतेनकै हो । केही दिनयता निर्माण टिम लोकेशन हन्टिङ र स्क्रिप्टलाई अन्तिम रुप दिन व्यस्त छ । फ्लोरमा नजाँदै फिल्मको प्रदर्शन मिति आउँदो चैत २८ गतेलाई तोकिएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार