Friday April 19, 2024 | |

आफ्नै आँगनको सिंहदरबार देख्दैन पुनर्निर्माण प्राधिकरण, १० करोड स्वाहा तर उस्तै छ स्वरुप

featured-news

काठमाडौं । विनाशकारी भूकम्प गएको तीन बर्ष वित्नै लाग्यो । तर, आफ्नै आँगनमा भूकम्पका कारण भत्किएका यी संरचना तर्फ भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ध्यान पुग्न सकेको छैन । भूकम्पबाट सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, रक्षा मन्त्रालय, श्रम मन्त्रालयलगायतका महत्वपूर्ण मन्त्रालयसहित सिंहदरबारको ऐतिहासिक भवन भत्कीएको थियो ।
भूकम्पपछिको पुननिर्माणको जिम्मा पाएको राष्ट्रिय पुननिर्माण प्राधिकरण भने सिंहदरबारको अघिल्लो भागमा रेट्रो फिटिङ गरिने कारण स्काफोल्डिङ मार्फत पुननिर्माणको काम भइरहेको बताउँछ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालका अनुसार, संरचना पुनर्निर्माणको काममा प्राधिकरण र शहरी विकास मन्त्रालयबीचको विवादले अन्यौल बनेको हो । भूकम्पले भत्किएका सबै संरचनाको पुनर्निर्माण गर्न भनेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरिएको थियो । प्राधिकरणले अहिले सिंहदरवारको बिस्तृत इन्जिनियरिङ अध्ययनका परामर्शदाता छनौट गरिरहेका छ । प्राधिकरणले बोलपत्र आह्वान गरी परामर्शदाता छनौटको कार्य पनि गरिसकेको छ । अबको एक महिनामा परामर्शदाता छनौट गरी अध्ययनको काम शुरु भइसक्ने दाबी गरेको छ ।
१० करोडभन्दा बढी खर्च, तर प्रगति शुन्य
पुनर्निर्माण प्राधिकरणले केही समय अगाडि २५ करोड रुपैयाँमा सिंहदरवारको पुनर्निर्माण सम्पन्न हुने भनेर योजना अगाडि सारेको थियो । तर, पुनर्निर्माणको काम शुरु पनि नहुँदै अहिलेसम्म १० करोडभन्दा बढी रुपैयाँ खर्च भइसकेको छ । शहरी विकास मन्त्रालयले गरेको अध्ययनमै ५ कराडभन्दा बढी खर्च भइसकेको छ । यसबाहेक स्काफोल्डिङमा पनि ५ करोडजति खर्च भएको भन्ने हिसाब आएको छ । पुनर्निर्माण प्राधिकरणले सिंहदरवारको रेट्रोफिटिङ गर्ने भनेर स्काफोल्डिङ गरेको थियो । तर अब उक्त भवनको पुन: बिस्तृत इन्जिनियरिङ अध्ययन हुने भएपछि स्काफोल्डिङ काम नलाग्ने देखिएको छ ।
विनायोजना पैसा खर्च
पुनर्निर्माण प्राधिकरणले सिंहदरवारको पुनर्निर्माणमा अहिलेसम्म पनि विस्तृत योजना बनाउन सकेको छैन । बिस्तृत इन्जिनियरिङ अध्ययन गर्ने भनिएपनि अध्ययन पछिको तयारीका बारेमा प्राधिकरणका अधिकारी अनविज्ञ छन् । हुनपनि सिंहदरवार पुनर्निर्माणका नाममा प्राधिकरणले विनायोजना रकम खर्च गरिरहेको छ । केही कर्मचारीका लागि पैसा पचाउने बाटो मात्रै भएको छ । देखिने गरी एउटा पनि काम भएको छैन । पुरातात्कि विज्ञहरु सिंहदरबार ‘दरबार’ मात्रै नभएर इतिहास समेत भएकाले त्यसलाई कुनै पनि हालतमा भत्काउन नहुने पक्षमा छन् । सरकारी कामकाज सञ्चालनका लागि अर्को भवन बनाएर सिंहदरवारलाई रेट्रोफिट गरेर इतिहासका रुपमा जगर्ने गर्नुपर्ने उनीहरुको भनाइ छ । तर केही सरकारी अधिकारी भने सिंहदरवारको भवनलाई प्रयोगमा ल्याउने गरी पुनर्निर्माण गरिनुपर्ने पक्षमा छन् । दुइ पक्षको विवाद हुँदा सिंहदरवारको इतिहास नै संकटमा पर्ने सम्भावन बढ्दै गएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार