Friday March 29, 2024 | |

निरङ्कुश बन्दै नेकपाको नेतृत्व !

featured-news

काठमाडौँ– शनिबार बसेको सत्तारुढ नेकपाको संसदीय दलको बैठकभित्रको माहोल अन्य दिनको भन्दा फरक थियो । विषय थियोे ‘मेरो सरकार’ । राष्ट्रपतिले बैशाख २० गते संसदमा पेश गरेको बार्षिक नीति तथा कार्यक्रममा समावेश शब्दावलीका कारण सरकारको आलोचना भइरहेका बेला यो विषयले सत्तारुढ नेकपाकै संसदीय दलको बैठकमा समेत निकै आलोचना भएको हो । 

बैठकमा ढिला गरी उपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सायदै सोचेका थिए, ‘मेरो सरकार’लाई लिएर आफ्नै सांसदले विरोध गर्छन् भन्ने । कुरा त्यति मात्र पनि थिएन । बैठकमा सांसदहरुलाई बोल्न नदिएको र हुकुमी शैली लाद्न खोजेको भन्दै प्रधानमन्त्रीको चर्को आलोचना भयो ।

गत वर्ष पनि नेकपाका सांसदहरुलाई सरकारकै बारेमा जथाभावी नबोल्न भन्दै ओली र प्रचण्डले निर्देशन नै दिएका थिए । त्यही परिस्थिति नेकपामा अहिले पनि दोहोरियो ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘मेरो सरकार’ शब्दावली उल्लेख गरेको भन्दै अहिले चौतर्फी विरोध भइरहेको छ । त्यही शब्दावलीलाई लिएर सत्तारुढ दलका सांसदहरुले पनि विरोध गरेका छन् । 

अघिल्लो वर्ष सरकारले पेश गरेको नीति तथा कार्यक्रम र बजेटबारे सत्तारुढ दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य शीर्ष नेताहरुले चर्को विरोध गरेका थिए । विरोधको कारण थियो पार्टीमा समन्वयविना कार्यक्रम पेश गरिएको ।

तर अहिलेको दृश्य अलि फरक छ । नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुनुपूर्व अर्का अध्यक्ष प्रचण्डले अध्ययनको समेत मौका पाए । त्यसबाहेक सचिवालयका अन्य शीर्ष नेताहरुसँग पनि प्रधानमन्त्रीले सुझाव मागेका थिए ।

सचिवालयका एक नेताका अनुसार बैठकमा दिइएका सुझाव केही मात्रामा समेटिएका छन् । यस अर्थमा सत्तारुढ दलका सांसदहरुको असन्तुष्टि नीति तथा कार्यक्रममा भन्दा पनि भाषामा रहेको छ ।

तर अहिले पनि सत्तारुढ दलकै सांसदहरुबाट प्रधानमन्त्रीको आलोचना भयो । बैठकमा सहभागी एक सांसदका अनुसार यसअघि तय भएअनुसार शनिबारको बैठक प्रधानमन्त्री र नेकपाका सांसदहरुले दोहोरो छलफल गर्नेगरी बोलाइएको थियो–ताकि प्रधानमन्त्री, अर्का अध्यक्ष र अन्य नेताका एकोहोरो भाषण सुन्न ।

बैठकमा संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारको नीति तथा कार्यक्रम राम्रो भएको भन्दै समर्थन गर्न ह्विप जारी गरे । उनले शनिबार छलफल गर्ने कार्यक्रम नभएको भन्दै २४ गते नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने र २६ गते बस्ने दलको बैठकमा आफ्ना धारणा राख्नुहोला भनेपछि केही सांसदहरुले विरोध गरे । त्यतिबेला बैठक हलमा होहल्ला सुरु भयो । त्यतिबेलासम्म पनि प्रधानमन्त्री बैठकमा उपस्थित थिएनन् ।

 

सांसदहरुले विरोध गरेपछि त्यति नै बेला मञ्चमा बसेका अध्यक्ष प्रचण्डले सांसदहरूलाई बोल्न दिने सङ्केत गरेपछि सांसद सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, रामकुमारी झाँक्री लगाएतले राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकोमा आपत्ति जनाए । उनीहरुले त्यसबारे नेतृत्वले स्पष्ट पार्नुपर्ने भन्दै अडान लिए । त्यति मात्र होइन, सांसदहरुले सरकारको नीति तथा कार्यक्रमबारे प्रश्नै गर्न नदिएको भन्दै चर्को असन्तुष्टि पनि जनाए । दुई नेताको निर्देशन र ह्विप मात्रै जारी गर्नु स्वीकार्य नभएको भन्दै प्रधानमन्त्रीकै उपस्थितिमा जिज्ञासा राख्नदिनुपर्ने भन्दै माग गरे ।

बोल्ने समय माग्दै हात उठाएका सांसद शर्माले राष्ट्रपतिलाई विवादमा ल्याउने काम किन भयो भन्ने प्रश्न गरे । उनले भने, ‘जुन भाषा प्रयोग गरेर राष्ट्रपतिलाई विवादमा ल्याइयो, त्यो कुन मनसायले ल्याइयो प्रष्ट हुनुपर्छ ।’

 

सांसद झाँक्रीले दलको बैठकमा कुरा राख्न नदिएर जबरजस्ती सबै कुरामा समर्थन गर्नुपर्छ भनेर ह्विप जारी गर्न नमिल्ने तर्क राखिन् । ‘दलको बैठकमा कुरा राख्न नदिने अनि जबरजस्ती यो कुरामा समर्थन गर भनेर निर्देशन मात्रै ह्विप जारी गर्ने कुरा किमार्थ हुँदैन । त्यसकारण यहाँ छलफल गर्ने वातावरण हुनुपर्छ । पीएम आएपछि यो नीति तथा कार्यक्रममाथि हामी यहीँ क्लियर भएर जानुपर्छ ।’

त्यसपछि सांसद झाँक्रीले राष्ट्रपतिले प्रयोग गरेको भाषामा क्लियर गर्न आग्रह गरिन् । ‘नेपाल सरकार, हाम्रो सरकार, मेरो सरकार भन्ने सन्दर्भमा, हिजो ०४७ सालको संविधानअन्तर्गत श्री ५ महाराजधिराजले मेरो सरकारले गर्छ भने जस्तो भाषा हो भने यो प्रयोग गरिनुहुँदैन’, उनले भनिन्, ‘गरियो भने पनि यसमा के सैद्धान्तिक आधार छ ? के उद्देश्य छ ? केका लागि यो भाषा प्रयोग गरियो ? आज यो बैठकमा दुई जना नेताहरुको निर्देशन मात्रै होइन कि हाम्रा कुरा पहिले सुनिनुपर्छ ।’

सांसद पाण्डेले छलफल गर्न नपाइने हो भने बैठक किन बोलाएको भन्ने प्रश्न गरे ।

सांसदहरुको आलोचना सुनेपछि बोलेका अध्यक्ष प्रचण्डले सांसदहरुले उठाएको विषय जायज भएको भन्दै गत वर्षको नीति तथा कार्यक्रममा भएका कमजोरी सच्याएर अहिलेको कार्यक्रम ल्याएको बताए थिए ।

 

बैठकमा सहभागी अर्का एक सांसदका अनुसार अर्का अध्यक्ष प्रचण्डले बोल्ने क्रममा आफूले नीति कार्यक्रम अध्ययन गर्दा ‘मेरो सरकार’ उल्लेख नभएको बताएपछि सांसदहरू मुखामुख गरेका थिए । बैठकमा प्रचण्डले भनेका थिए, ‘अन्य विषयमा छलफल भएको थियो । मेरो सरकारको कुरा मैले पढेको नीति तथा कार्यक्रममा थिएन । मलाई यसबारे जानकारी भएन । पछि कहाँबाट घुस्यो ।’ अध्यक्ष प्रचण्डले थाहा नपाएको बताएपछि सांसदहरु झनै असन्तुष्ट बनेका छन् ।

प्रचण्ड बोल्दै गर्दा बैठक हलमा प्रवेश गरेका प्रधानमन्त्री ओलीलाई त्यहाँ उठेका विषयका बारेमा जानकारी गराइयो ।

त्यसपछि लामो सम्बोधन गरेका प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रमको जस्तो भए पनि विपक्षीले विरोध गर्ने र सत्तापक्षले समर्थन गर्नुपर्ने बताए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘कसैले औँला ठड्याउन ठाउँ छैन ।’ राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु अन्तर्राष्ट्रिय हो । यसमा धेरै बहस गर्न आवश्यक छैन ।’

त्यति मात्रै पनि होइन, प्रधानमन्त्री ओलीले सांसदहरुले राम्रो मनसायले आफ्नो विचार राख्दा पनि ‘नेकपाभित्र विवाद’ भनेर प्रचार गर्ने भन्दै छलफल गर्न आवश्यक नरहेको बताएका थिए । त्यस्तै उनले सरकारको नीति तथा कार्यक्रम गलत भन्ने आधार नभएको र त्यहीअनुसार प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिएका थिए ।

त्यसपछि सांसदहरुले नेतृत्वको कार्यशैलीलाई लिएर असन्तुष्टि बढेको एक सांसदले रातोपाटीलाई बताए । उनी भन्छन्, ‘नेतृत्वको कार्यशैली निरङ्कुश जस्तो भयो । अघिल्लो वर्ष पनि हाम्रो बोलीमा लगाम लगाइयो । अहिले पनि त्यस्तै ? आगामी दिनमा यस विषयमा छलफल राम्रैसँग हुन्छ ।’

जङ्गबहादुरका रैती जस्तै भयौँ– सांसद झाँक्री

रातोपाटीसँग कुरा गर्दै सांसद झाँक्रीले नेतृत्वको हुकुमी शैली ठीक नभएको बताइन् । तानाशाही नेतृत्व भएपछि छलफल हुन्छ ? प्रधानमन्त्री कम्बोडिया गएपछि दलको बैठक बस्ने र त्यहाँ छलफल गर्ने भनिएको छ । शनिबारको बैठकमा प्रधानमन्त्रीले दिएको जवाफबाट असन्तुष्ट नै भए पनि दलीय व्यवस्थाभित्र रहेको बाध्यात्मक अवस्थाले गर्दा नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने बताइन् । उनले भनिन्, ‘हिजो राजतन्त्रका विषयमा फरक मत राखेर आइयो । यस्ता विषयमा आफ्ना मतहरु सुरक्षित छन् । चित्त नबुझेका कुरामा खुलस्त असहमतिहरु राख्दै आएको हो । आगामी दिनमा पनि राखिन्छ ।’ ratopati.com

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार