Saturday April 20, 2024 | |

नेपालमा बन्यजन्तु तस्करीको डरलाग्दो जालो, तस्करको निशानामा चितुवा, सालक र हाब्रे

featured-news

काठमाडौं । विश्वमा नै बन्यजन्तु चोरी–सिकार, बासस्थान विनाश, खान्कीको अभाव, मानिस र वन्यजन्तुबीचको द्वन्द्व, आखेटोपहारको अवैध व्यापार लगाएतका कारणले वन्यजन्तु संरक्षणमा चुनौती बढ्दै गएको छ । यसबाट नेपाल पनि अछुतो छैन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले मात्र आर्थिक बर्ष २०७३/७४ मा वन्यजन्तु अपराध सम्बन्धि २७ वटा अप्रेशन गरेको थियो । ती अप्रेशनबाट ६३ जनालाई वन्यजन्तुको आखेटोपहार सहित पक्राउ गर्‍यो । त्यस्तै २०७४/७५ मा भएको ३७ वटा अप्रेशनमा ८५ जना पक्राउ परे । यही तथ्याङ्कलाई आधार मान्दा पनि नेपालमा बन्यजन्तु तस्करहरु सक्रिय रहेको पुष्टि हुन्छ ।

गैंडा संरक्षणमा शून्य चोरी सिकारी तर अन्यमा बढ्दो
गैंडा संरक्षणमा सन् २०१३ देखि सन् २०१५ सम्म लगातार तीन बर्ष ‘शून्य चोरीसिकारी बर्ष’ कायम राख्न सफल भएर विश्व संरक्षण मानचित्रमा नेपाल उदाहरण बनेको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालको जङ्गलमा ५ सय ३४ वटा एक सिङ्गे गंैडा छन् । त्यस्तै सन् १९९८ मा बाघको संख्या ९८ वटा थियो । यो संख्या बढ्दै २००० मा १ सय ९ पुग्यो । २००५ मा झन् त्यो संख्या बढेर १ सय २६ पुग्यो । २०१४ को गणना अनुसार, अहिले बाघको संख्या बढेर १ सय ९८ पुगेको छ । यसलाई हेर्दा बाघको सङ्ख्या सन् १९७० यता कै सवै भन्दा बढी देखिन्छ । लोपोन्मुख बाघ र गैडाको सङ्ख्यामा बुद्धि हुनुलाई नेपालको सफलता रहेको विश्लेषण गरिएको छ । तर दिनहुँ रुपमा बरामद् भएका बन्यजन्तुका आखेटोपहारले भने शून्य चोरी सिकारी बर्षलाई नै गिज्याइरहेको छ । पछिल्लो २० वर्षका बीचमा चितवनमा गैंडाका ३ सय ६९ थान खाग, पाटे बाघका ६९ थान छाला, जंगली हात्तीका १ सय ८५ थान दाह्रा, चितुवाको ४ सय ९३ थान छाला, कस्तुरी मृगको ३६ थान बिना संकलन भइसकेका छन् । अन्य दुर्लभ बन्यजन्तुको अखेटोपहार पनि संकलन भएको छ । यही तथ्याङ्कलाई हेर्दा पनि निरन्तर रुपमा बन्जयन्तुको तस्करी भइरहेको पुष्टी हुन्छ ।

अबको चुनौती चितुवा, सालक र हाब्रे (रेडपाण्डा)
चैत १६ गते, सिआइवीको टोलीले तीन वटा चितुवाको छाला सहित तीन जनालाई पक्रियो । यो घटनाको ठिक चार दिन अघि मात्र सालकको खपटा र अन्य बन्यजन्तुको हड्डी सहित दुई जना पक्राउ परेका थिए । यि त केही उदाहारण मात्र हुन् । यि घटना अघि पनि निरन्तर रुपमा प्रहरीले चितुव, सालक, हाब्रे लगाएत बन्जयन्तुका आखेटोपहारहरु बरामद् गरिरहेको छ । सिआइवीका प्रमुख डिआइजी नाराणसिंह खड्काका अनुसार पछिल्लो तीन बर्ष यता नेपालमा गैंडाको सिकार नै भएको छैन । बाघको शिकार गर्ने क्रम पनि घटेको छ । तर, चितुवा, सालक र हाब्रेको सिकार भने बढेको छ । त्यस्तै पहाडी भेगमा संरक्षित क्षेत्रका साथै सामुदायिक अनि सरकारी बनमा अन्य जनावर चितुवा, हिउँचितुवा, हाब्रे, घोरल आदिका शिकारी भने रोकिएको छैन ।

के का लागि कुन बन्यजन्तुको सिकार ?
गैंडा – खाग, खुर र छाला
बाघ – छाला र हड्डी
चितुवा – छाला र हड्डी
भालु – पित्त र नङ्ग्रा
हाब्रे – छाला
सालक – खपटा
कस्तुरी – विना
हात्ती – दाह्रा
चिरु – साहतुस
यि बाहेक जिवित नै बन्यजन्तु अजिङ्गर, सालक, त्यस्तै पशुपंक्षी हुचिल, लाटोकोशेरो लगाएतको पनि तस्करी हुने गरेको छ ।

तस्करीमा अन्तर्राष्ट्रिय जालो
अन्तराष्ट्रिय तस्करी गिरोहले नेपाललै ‘ट्रान्जिट’ बनाएर भारतलगायत अन्य मुलुकबाट नेपालहुँदै बन्यजन्तुको छाला एवं आखेटोपहरको व्यापक माग रहेका देशहरु चीन, भियातनाम, जापान, कम्बोडिया लगायतका बजारहरुमा पुर्‍याईरहेका छन् । यो सीमापार अपराध नियन्त्रणमा त अहिलेसम्म हाम्रो राज्य संयन्त्र सुरुवाती चरणमै देखिन्छ । सिआइवीका तात्कालिन प्रमुख डिआइजी हेमन्त मल्लका अनुसार, कतिपय बन्यजन्तुको आखेटोपहारका लागि नेपाली भूमि ट्रान्जिटका रुपमा प्रयोग गरिएको छ । चीरुको रौं तिब्बतबाट अवैध रुपमा निकासी गरी नेपालको बाटो हुँदै भारत जान्छ अनि बाघको छाला र हड्डी नेपालको बाटो हुँदै तिब्बत पुग्छ । त्यहाँबाट तेस्रो मुलुकमा समेत पुग्ने गरेको छ । यसलाई हेर्दा वन्यजन्तुसंग सम्वन्धित अपराध नेपाल, भारत र चीनसंग अन्तर सम्वन्धित रहेको देखिन्छ । अनुसन्धान भन्छ – २० प्रतिशत नेपालका बन्यजन्तु शिकारी हुनेगरेपनि ८० प्रतिशत बन्यजन्तुको आखेटोपहार बाहिरबाट यहाँ आउँछ र नेपालको बाटो भएर अन्यन्त्र पुर्‍याईन्छ । यसमा स्थानीय व्यक्तिदेखि अन्तर्राष्ट्रिय गिरोहको तहगत संलग्नता रहेको देखिन्छ । यसमा खटिने अन्तर्राष्ट्रिय गिरोहले, दुर्लभ वन्यजन्तु र वनस्पतीको जानकारी दिने, चोरी शिकारी गर्ने, दलाली अर्थात मध्यस्थकर्ता गर्ने र विदेशमा निकासी गर्ने गर्छन् ।

कानुनी व्यवस्था
बन्यजन्तुको कारोबारलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धी १९७५ विरुद्धको अपराध मानिन्छ । यस्तो अपराध गर्नेलाई ५ बर्ष देखि १५ बर्षसम्म कैद र ५० हजार देखि १ लाख सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

तस्करी नियन्त्रण कसरी ?
वनजंगल फडानीका कारण बासस्थानको विनाश, वन्यजन्तुको चोरी सिकारी आदि क्रियाकलापका कारण वन्यजन्तु दिनानुदिन संकटमा पर्दैछन् । सवै सरोकारवाला निकायले आपसी समन्वयमा काम गरेको खण्डमा वन्यजन्तु तस्करी नियन्त्रण हुने पूर्वडिआइजी हेमन्त मल्ल बताउनुहुन्छ । हुनपनि प्रकृती संरक्षणमा लागेका सवै पक्षले आ–आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्ने हो भने पक्कै पनि यो क्षेत्रमा सुधार देखिन्छ । अबका दिनमा बन्यजन्तु संरक्षण र चोरी शिकारी नियन्त्रणका लागि नेपालले स्थानीय समुदायको सहभागिता, उच्चतम प्रविधिको प्रयोग, सरकारी निकायहरु विच समन्वय अनि सहकार्यलाई बढावा दिनु आवश्यक देखिन्छ । त्यस्तै चीनलगायतका बन्यजन्तु कारोबारका ‘गन्तब्य’ राष्ट्रसँग उनीहरुका आन्तरिक बजारमा बन्यजन्तु आखेटोपहार माग घटाउने गरी नीति नियम परिमार्जन गरिदिन कुटनीतिक पहल गर्नु अत्यन्तै जरुरी रहेको बिज्ञहरुको ठहर छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार