Saturday April 20, 2024 | |

तीनकुनेस्थित खाली जग्गा प्रकरण : धुलोमै विलाउँदै करोडौं रकम, कागजमा सिमित डेढ दशक देखिको योजना

featured-news

काठमाडौं । तीनकुनेमा रहेको सडकभित्रको करिब ३५ रोपनी खाली जमिन धुलाम्य छ । सुस्तरी हावा चल्दा पनि सासै फेर्न गाह्रो हुने गरी धुलो उड्छ । धुलाम्य जमिनमा कतै ठूला मालवाहक ट्रक रोकिएका छन् त कतै यात्रुबाहक बस । ट्याक्सी, टिपर, टाटा मोबाइल सबैको पार्किङ स्थल पनि त्यही नै हो ।
त्यसो त यसलाई तीनुकने पार्क, आधुनिक बगैंचा, तीनकुने शान्ति मण्डला लगाएत अनेक नाम दिइएको छ । तर, यो एउटा यस्तो पार्क, बगैंचा या मण्डला हो जहाँ तपाईंले न एउटा फूल बुट्यान देख्न सक्नुहुन्छ नत पार्कका लागि आवश्यक कुनै भौतिक संरचना नै । हुन त अहिलेसम्म तीनकुनेलाई लिएर धेरै योजना बने तर, एउटै योजना पनि कार्यान्वयन भएको छैन । अर्को रहस्य त के छ भने बितेको तीन वर्षमा तीनकुनेमा पार्क, बगैंचा र मण्डला बनाउने नाममा करिब डेढ करोड रुपैयाँ खर्च भएको छ । तर, त्यो रकम के मा खर्च गरियो पहिल्याउनै सकिदैन ।
कहाँ गयो त डेढ करोड रकम ?
काठमाडौं महानगरपालिकाले सन् २०१४ मा भएको १८ औं सार्क शिखर सम्मेलनको समयमा यही जग्गामा बगैंचा बनाउने प्रस्ताव गरेको थियो , लगत्तै सरकारले एक करोड रुपैयाा बिनियोजन गर्‍यो । तर पार्क बनेन । महानगरपालिकाले जस्तापाताले लाज ढाक्ने काम मात्र गर्‍यो । यस अघि पनि यो खुला चौरलाई पार्क बनाउने भनेर धेरै योजना बने, बजेट छुट्टियो तर काम हुन सकेन । खर्च चाहीं गर्ने तर काम गर्न चाहीं नसक्ने , यो कस्ता पारा हो काठमाडौं महानगरपालिकाको ? उपमेयर हरिप्रभा खड्गी, जग्गाको मुआब्जाको विषय नटुंगिंदा काम गर्न समस्या भएको स्वीकार्छिन् ।
बर्षौंदेखि खाली रहेको यो जग्गामा करिब ३५ जना स्थानीयले हक दावी गरेर मुद्दा हालेका छन् । तर जग्गाको हक दावी गरिरहेकाहरुको माग अनुसार प्रचलित मुल्यमा यो जग्गा किन्न सक्ने अवस्थामा महानगरपालीका छैन । विगत २१ वर्षदेखिको मुआब्जा विवाद व्यवस्थापन नहुादा यो चौरका नाममा लाखौं खर्च भएर पनि योजना भने त्यत्तिकै तुहिएका छन् ।
शान्ति मण्डला बनाउने नयाा योजना
अहिले महानगरपालीकाले यो खाली जग्गामा मुलुककै मुहार झल्किने खालको शान्ति मण्डला बनाउने योजना कोरेको छ । त्यो योजना अनुरुप तिनकुने शान्ति मण्डला निर्माण भएमा १ अर्व २३ करोड रुपैयाा खर्च हुने छ । मण्डलाको डिजाइन समेत तयार पारेर बसेको महानगरले विस्तृत अध्ययन समेत गरिसकेको दाबी गरेको छ । तर महानगरपालिकाले तीनकुनेमा जे गर्न लागे पनि कुनै न कुनै समस्या आइहाल्छ । योजना बन्छन्, कार्यान्वयन गर्न लाग्दा जग्गाको मुअब्जाको कुरा उठ्छ । स्थानीयको विरोध हुन्छ । काम रोकिन्छ । त्यसो त आर्थिक वर्ष २०७४/०७५ मा तीनकुनेको सौन्दर्य का लागि भन्दै महानगरपालिकाले १ करोड रुपैयाँ छुट्याएको छ । बजेट एक करोडको भए पनि तीनकुनेको सौन्दर्यका लागि ८९ लाख ४१ हजार ४ सय ९१ रुपैयाँको कार्यक्रम बनाइएको छ । योमध्ये ४७ लाख ७७ हजार ९ सय ८० रुपैयाँ खर्च भइसकेको छ, जुन भुक्तानी ठेकदारले पाइसकेका छन् । ठेकदारले तीनकुने सौन्दर्यका नाममा थप ४१ लाख ६३ हजार ५ सय ११ रुपैयाँ पनि महानगरपालिकाबाट लग्नेछन् । तर तीनकुनेको रुपमा भने कुनै परिवर्तन भएको छैन ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार