Wednesday April 24, 2024 | |

पाटन दरवार क्षेत्रको अस्तित्व माथि प्रहार

featured-news

काठमाडौं । ललितपुरको मुख्य आकर्षण केन्द्र मानिएको पाटन दरबार स्क्वायर क्षेत्र । यस दरवार स्क्वायर क्षेत्रको विकास कहिले भयो भनेर स्पष्ट इतिहास छैन । तर करिव चार शताब्दी पहिले मल्लकालिन शासन कालमा निर्माण भएको भएको विश्वास रहिआएको छ । पाटन दरबार क्षेत्रको मुख्य आकर्षण भनेको कृष्ण मन्दिर, त्यसैगरी ललितपुरको सबैभन्दा अग्लो मन्दिर तलेजु भवानी मन्दिर, विश्वनाथ मन्दिर र भिमसेन मन्दिर नै हुन् ।
तर, विश्व सम्पदा सूचिमा सूचिकृत यी क्षेत्र पछिल्लो समय मानविय अतिक्रमणको चपेटामा परेका छन् । यो या त्यो विभिन्न बहानामा यी पुरातात्वीक सम्पदामाथि प्रहार गर्ने काम भइरहेको छ । अहिले यस क्षेत्रमा सय भन्दा बढी पसल सञ्चालनमा छन् । यी मध्य ४० वटा पसल हटाउनु पर्ने स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय प्रमुख, काजी प्याकुरेलको भनाई छ ।
पसल हटाउने योजना कागजमै सिमित
हो पर्यटकीय दृष्टिकोणका आधारमा पाटन दरबार क्षेत्रमा पर्यटकको आकर्षण बढाउन दरबार क्षेत्र खुला बनाउने उद्देश्यले गुठी संस्थान, पुरातत्व विभाग र ललितपुर महानगरको संयुक्त प्रयासमा पसलहरु खाली गर्ने योजना बनेको थियो । सोही अनुरुप तीन वटै निकायको सहमतिमा गत पुस महिनामै पसल हटाउन भन्दै दुई हप्ते सूचना समेत जारी गरियो । तर, तीन महिना वित्दा समेत न त ब्यापारीहरुले पसल खाली गरे नत नियमनकारी निकायले हटाउन नै सक्यो । पुस्तौं देखि व्यापार गर्दै आएका रैथाने व्यापारीले ओगटेको दरवार क्षेत्रको ठाउँ छोड्न अटेर गर्दै आएका छन् ।
कि त खाली गर्ने सूचना जारी नै नगर्नु तर सूचना नै जारी गरेपछि पसल हटाउन किन पछि हट्यो नियमनकारी निकाय ? दरबार क्षेत्रमा व्यापार गर्न स्थान उपलब्ध गराए बापत भाडा उठाउँदै आएको गुठी संस्थानका प्रवक्ता सरोथ थपलिया व्यापारीले ठाउँ खाली गर्न केही समय मागेकाले आफूहरु मौन बसेको दाबी गर्छन् ।
ब्यापारीहरुको अटेरी
तर, ब्यापारीहरुले कहिले सम्म समय माग गरेका छन् भन्ने गुठी संस्थानलाई नै थाहा छैन । गुठी संस्थानले यस क्षेत्रबाट ब्यापारी सँग एउटा सटरको कम्तीमा ४ सय देखि १२ हजार सम्म भाडा उठाउँदै आएको छ । १५ दिने सूचना टाँसेको तीन महिना सम्म पनि ब्यापारीहरु खुलेआम रुपमा ब्यापार गरिरहेछन् । उनिहरु कुनै हातलमा पसल खाली गराउने पक्षमा नै देखिदैनन् । हुनपनि १६ औं सताब्दीदेखि नाम कमाएको पाटन दरबार क्षेत्रमा पुस्तौदेखि दरबार क्षेत्रको अतिक्रमण हुँदै आएको छ । तर, यहाँका रैथाने व्यापारी भोगचलन गरिआएको ठाउँ छोड्न अझै राजी छैनन् । जसले दरवार क्षेत्रको पुनर्निर्माणमा त प्रभाव पारेको छ नै दरबार क्षेत्रको सुन्दरता समेत विगारेको छ । यस तर्फ नियमनकारी निकायको ध्यान पुग्नै पर्छ ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार