Wednesday April 24, 2024 | |

निकुञ्जका कर्मचारीले जलाए ३१ घार माहुरी

featured-news

मुगु : स्थानीयबासीले मध्यवर्ती क्षेत्रको वनभित्र राखेका माहुरीका घारलाई निकुञ्जका कर्मचारीले नै आगो लगाए जलाएका छन्।

ऋणमोक्ष मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तर्गतको छायानाथ रारा नगरपालिका ७ को डावा रानीखाडा वन उपभोक्ता क्षेत्रको राताखोलामा वडा नम्बर ६ र ७ का स्थानीयबासीले संयुक्तरुपमा राखेका माहुरीको घार रारा राष्ट्रिय निकुञ्ज बुलबुले पोस्टका कर्मचारीले गत शुक्रबार माहुरीसहित आगो लगाएर जलाइदिएका हुन्।

माहुरीका घार राखिएको स्थान निकुञ्ज क्षेत्र भन्दा बाहिर मध्यवर्ती क्षेत्रमा पर्ने स्थानीयबासीको भनाइ छ। यो स्थानमा असोज कात्तिकमा पिना र कोटीला गाउँका स्थानीयले भेडा बाख्रा राख्ने गरेका थिए।

रारा राष्ट्रिय निकुञ्जका कर्मचारीले उक्त स्थानमा बनाएका भेडीगोठ हटाउन भनेपछि स्थानीयले भेडीगोठ अन्तै सारेका थिए।

शुक्रबार बुलबुले पोस्टबाट आएका निकुञ्जका दुई कर्मचारीले भेडीगोठसहित उक्त स्थानमा राखिएका  छाँयानाथ रारा नगरपालिका ७ पिना गाँउका जानदेवी बम र वडा नम्बर ६ कि राजदेवी ऐडिका माहुरी घारलाई आगो लगाएर जलाएको छायानाथ रारा नगरपालिका ७ का वडाध्यक्ष हरिचन्द्र शाहीले बताएका छन्।

आगो लगाएर जलाएका जानदेवी बमका २४ र राजदेवी ऐडिका ७ गरी ३१ घारमा माहुरी थिए। नजलाएको हुन्थ्यो भने कात्तिक महिनामा मह संकलन गरिन्थ्यो।

आफूहरूले निकुञ्ज क्षेत्र भित्र घार नराखेको स्थानीयले बताए। 'समुदायले उपभोग र संरक्षण गर्ने मध्यवर्ती  क्षेत्रको वनभित्र माहुरी घार राखेका हौँ', जानदेवी बमले भनिन्, 'विचरा माहुरीको के नै दोष थियो र ३१ घारका माहुरीलाई आगो लगाएर जलाइयो ?'  

माहुरीलाई घारबाट धपाउन वा घार नै उठाएर निकुञ्जमा लान सकिने अवस्था भए पनि त्यसो नगरिएको भन्दै उनीहरूले आक्रोश पोखे। 'माहुरी जलेर खरानी भएका छन्। मह पग्लेर जमिनभरी बगेको देख्दा  आसु थाम्न सकिनँ', बमले भनिन्।

यी घारबाट करिब १०० केजीसम्म मह उत्पादन हुन्थ्यो। आफूलाई वन रक्षक भन्नेले जीवजन्तुमाथि  आगो लगाएर भक्षकको रुप धारण गरेको भन्दै न्यायको लागि मध्यवर्ती क्षेत्र वन उपभोक्ता समिति र वडा कार्यालयमा निवेदन दिने पीडितहरूको तयारी छ।

रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लाल बहादुर भण्डारीले घटनाबारे थाहा नभएको प्रतिक्रिया दिए। 'निकुञ्ज क्षेत्र होस् या मध्यवर्ती क्षेत्रमा कुनै पनि गैरकानुनी काम गर्न पाइँदैन। भेडीगोठ हटाउन उहाँहरू नै सहमत हुनुभएको हो', उनले भने, 'तर २४ गते सम्म गोठ नहटाएपछि पोस्टका कर्मचारीले हटाएका हुन्। तर माहुरीका घारमा आगो लगाउने र माहुरी नै जलाउने योजना हाम्रो छैन। त्यस्तो जानकारी आएको पनि छैन।'

annapurnapost

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार