Saturday April 20, 2024 | |

दुई कम्युनिष्ट पार्टी मिल्दा कांग्रेस हारेकाे हाे, मलाई मात्रै दाेष दिन मिल्दैन : सभापति देउवा

featured-news

कांग्रेस -  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई चुनावमा हराउनेहरु आफूविरुद्ध उभिएको दाबी गर्नु भएको छ । 

सभापति देउवाले चुनावमा पार्टीलाई हराउनेहरु पार्टीभित्र बलशाली भएकाले पार्टी संकटमा फसेको तर्क पनि गर्नुभयो । उहाँले आफूमाथि आरोप लगाउन छोडेर आउँदाे चुनावमा पार्टीलाई जिताउने गरी काममा जुटन पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो ।

शुक्रबार काठमाण्डाैमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कारबाही गर्न समेत आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको गुनासो पनि गर्नुभयो ।

दुई कम्युनिष्ट पार्टी मिल्दा पार्टीले हारेको दोहोर्‍याउँदै सभापति देउवाले त्याे हारको दोष आफूलाई मात्रै लाउने गरेकोमा आपत्ति पनि जनाउनुभयो । मञ्चमै रहेका नेता कृष्णप्रसाद सिटौलालाई सभापति देउवाले पुष्पकमल दाहाललाई मिलाउनका लागि चुनावका बेला वार्ताका पठाएको तर मिलाउन नसकेको पनि स्मरण गराउनु भयो । उहाँले आफूलाई मात्रै आरोप लगाएर पार्टीका नेताहरुले गैरप्रजातान्त्रिक गतिविधि गरिरहेको आरोप पनि लगाउनुभयो ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता सिटौलाले पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन सभापति देउवासँग माग गर्नुभयो । उहाँले पार्टी कमजोर हुनुको जिम्मेवारी पार्टी नेतृत्वको लिनुपर्ने पनि बताउनुभयो । नेता सिटौलाले पार्ट भित्र गुट हुनु स्वभाविकै भए पनि कलह चाहिँ हुनै नहुने पनि स्पष्ट पार्नुभयो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार