Thursday April 25, 2024 | |

उपत्यकामा १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरु

featured-news

काठमाडौँ – काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण शुरू भएको छ ।

चैत १५ गतेदेखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण शुरू गरिएको थियो । चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट औपचारिक रुपमा पानी वितरणको शुभारम्भ गरेकी थिइन् ।

शुभारम्भका दिन साढे आठ करोड लिटर पानी वितरण भएको थियो । चैत मसान्तसम्म परीक्षणका रुपमा साढे आठ करोड लिटर पानी वितरण गरिएको थियो ।

वैशाख १ देखि १० करोड लिटर पानी वितरण शुरू गरिएकामा आजदेखि दैनिक १२ करोड २६ लाख लिटर पानी वितरणका लागि पठाइएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । अब केही दिनमा १४, १५।५ हुँदै १७ करोड लिटर पानी वितरण गर्ने गरी योजना बनाइएको छ । क्रमशः बढाउँदै वैशाख ५ गते सम्ममा मेलम्ची खोलाको १७ करोड लिटर नै पानी सुरुङबाट राजधानी ल्याई वितरण गर्ने आयोजनाले जनाएको छ ।

हाल सुन्दरीजलका पानी दुबै प्रशोधन केन्द्रबाट प्रशोधन हुन थालेको छ । चैत मसान्तसम्म एउटै प्रशोधन केन्द्र मात्र सञ्चालन गरिएको थियो । वैशाख १ गतेदेखि दुवै प्रशोधन केन्द्र सञ्चालन हुन थालेको हो । सुन्दरीजलबाट नेपाल खानेपानी गुणस्तरको पानी महाङ्काल, बालाजु, लाजिम्पाट पानीपोखरी, अनामनगर ओभरहेड पानीपोखरी, मीनभवन ओभरहेड पानीपोखरी र खुमलटार पानीपोखरीमा पुर्‍याई वितरण शुरु भएको छ ।

मेलम्ची खोलाबाट १७ करोड लिटर पानी राजधानी आएपछि कीर्तिपुर र मध्यपुर ठिमी नगरपालिकाको टिगनीस्थित पानीपोखरीमा समेत पानी पुर्‍याएर परीक्षणका रुपमा वितरण गरिनेछ ।

सुन्दरीजलबाट थोक वितरण प्रणालीबाट पानी पानीपोखरीमा लगिन्छ । यसका लागि ७७ किमी थोक वितरण प्रणाली तयार भइसकेको छ । पानी वितरणका लागि राजधानीमा नौवटा पानी पोखरी र एक हजार १०० किमी वितरण प्रणाली पनि निर्माण भइसकेको छ ।

मेलम्चीको पानी हाल पुरानै वितरण प्रणालीबाट वितरण भइरहेको छ । अनामनगरको ५०० धारामा मात्र नयाँ वितरण प्रणालीबाट पानी पठाउन थालिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका सूचना अधिकारी उज्ज्वल प्रजापतिले बताए ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार