Thursday April 25, 2024 | |

ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य

featured-news

काठमाडौं–केही दिनदेखिको अविरल वर्षाका कारण काठमाडौंमा तरकारीको भाउ बढेको छ । बाढी पहिरोका कारण सडक यातायातमा असर पुगेपछि ढुवानीमा समस्या तथा भारी वर्षाले तरकारी खेतीमा पु¥र्याएको असरका कारण तरकारीको भाउ बढेको हो । 

भारतबाट आउने तरकारीमा पनि विषादी परीक्षणको विषयमा तनाव भएपछि स्थानीय तरकारी मात्र बजारमा आपूर्ति हुँदा भाउ बढेको कालीमाटी स्थित तरकारीका बजारका व्यापारी बताउँछन् । वर्षातपछि बजारमा पहिलेजति धेरै तरकारी नआएको व्यापारी सूर्य लामाले बताए । 

कुन तरकारीको कति छ भाउ ? 
वर्षाअघि ५० रुपैयाँ प्रतिकिलो रहेको मूला ७० रुपैयाँ बढेर १ सय २० रुपैयाँ पुगेको छ । ६० सय रुपैयाँ प्रतिकेजी रहेको काउली ४० रुपैयाँ बढेर अहिले १ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । यस्तै पहिलो ३० रुपैयाँ प्रतिकेजी रहेको तितेकरेलाको भाउ किलोमै ४० रुपैयाँ बढेर ७० रुपैयाँ प्रतिकिलो पुगेको छ । यस्तै ५० रुपैयाँ रहेको भन्टा ८० रुपैयाँ प्रतिकिलो पुगेको छ । 

४० रुपैयाँ प्रतिकिलो रहेको घिरौँला ९० रुपैयाँ पुगेको छ भने ५० रुपैयाँ प्रतिकिलो रहेको भिडेखुर्सानी ९० रुपैयाँ पुगेको छ ।

 ७० देखि ८० रुपैँया प्रतिकिलो रहेको काँक्रो ४० रुपैयाँ बढेर १ सय २० रुपैयाँ प्रतिकिलो पुगेको छ ।  ५० रुपैयाँ प्रतिकिलो रहेको बन्दागोपी ३० रुपैयाँ बढेर ८० रुपैयाँ पुगेको छ । 

यस्तै ८० रुपैयाँ प्रतिकिलो रहेको बोडी  १ सय २० रुपैँया प्रतिकिलो पुगेको छ । खुसार्नीको  भाउ पनि दोब्बरले बृद्धि भएको छ । होलसेलमा ५० रुपैयाँ प्रतिकिलो रहेको खुर्सानीको भाउ बढेर १ सय रुपैयाँ पुगेको छ । 
२ सय ५० रुपैयाँ थोक मूल्य रहेको अदुवा २ सय ८० रुपैयाँ पुगेको छ । यता ब्रोकाउलीको भने भाउ घटेको तरकारी ब्यापारी पवित्रा सापकोटाले बताइन् । उनका अनुसार केही दिन पहिले ५ सय रुपैयाँसम्म प्रतिकिलो विक्री भएको ब्रोकाउली अहिले प्रतिकिलो ८० रुपैयाँमा बिक्री गरिरहेको बताइन् । यता आलू तथा प्याजको भाउमा भने घटबढ नभएको व्यापारीहरुले बताए ।

फलफूलमा पनि बढ्यो भाउ 
दैनिक भान्छामा पाक्ने तरकारी मात्र नभई फलफूलको पनि भाउ बढेको छ । कालीमाटी तरकारी बजारका फलफूल बिक्रेताका अनुसार ४० रुपैयाँ प्रतिकेजी थोक बजार मूल्य रहेको खरबुजा ६० रुपैयाँ, ठूलो फुजी स्याउको खुद्रा मूल्य ३ सय ५० हराहारी रहेकोमा अहिले ४ सय सम्म पुगेको छ । यस्तैै सानो फुजी स्याउ २ सय ६० देखि ३ सय रुपैँया प्रतिकेजी रहेकोमा अहिले ३ सय ५० देखि ३ सय ६० रुपैँया प्रतिकेजी पुगेको छ । 

यस्तै मालदह आँप प्रतिकिलो १ सय २० रपैयाँ रहेकोमा अहिले १ सय ६० रुपैयाँ प्रतिकिलो पुगेको छ । एभोकाडो १ किलोमै १ सय रुपैँया भाउ बढेको छ । ३ सय ५० रुपैयाँ प्रतिकिलो रहेको एभोकाडो ४ सय ५० रुपैयाँ पुगेको छ । 

१ सय ६० रुपैयाँ प्रतिकिलो रहेको मौसम १ सय ८० रुपैयाँ पुगेको छ भने दर्जनको १ सय २० रुपैयाँ पर्ने मालभोग केरा १ सय ५० रुपैयाँ पुगेको छ । यस्तै प्रतिकिलो १ सय रुपैयाँ थोक मूल्य रहेको लिचीको मूल्य १ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको फलफूल व्यापारी विकास साहले जानकारी दिए । 

अहिले काठमाडौं उपत्यकामा धार्दिङ, मकवानपुर, चितवन, फर्पिङ, छैमले लगायतका क्षेत्रबाट तरकारी आउने गरेको छ । भक्तपुरबाट काँक्रो, घिरौँला लगायतका तरकारी आउने गरेको छ भने चितवनबाट भण्टा, लौका लगायतका तरकारी आउने गरेको छ । यस्तै काठमाडौंको रिङरोड बाहिरका क्षेत्रमा टनेलमा उत्पादन भएको गोलभेडाँले उपभोक्ताको माग पूरा भइरहेको छ ।

 कृषकसम्म यातायात सम्पर्क टुट्नु तथा बाढी डुवानका कारण पर्याप्त सवारी साधन नचलेका कारण यसरी तरकारीको भाउ बढेको तरकारी व्यापारीहरुको भनाई छ । मौसममा सुधार आएमा पहिलेकै अवस्थामा तरकारीको भाउ आइपुग्ने उनीहरुको भनाई छ । 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार