Wednesday April 24, 2024 | |

नेपालको सेमिफाइनल सम्भावना बलियो

featured-news

बंगलादेश विरुद्धको खेलका लागि रणनीति बुन्दै 

काठमाडौं । बंगलादेशमा जारी सुजुकी साफ च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा भुटानविरुद्ध शानदार जित हात पारेको नेपाली टोलीले शनिबार आयोजक बंगलादेशविरुद्ध मैदानमा उत्रिँदैछ । पहिलो खेलमा पाकिस्तानसँग इन्जुरी समयमा चुकेको नेपाली टोलीले विहीबार भएको भुटानविरुद्धको खेलमा ४–० को शानदार जित हात पारेको हो ।

नेपालको जितमा अनन्त तामाङ, भरत खवास, निराजन खड्का र सुनील बलले गोल गरे । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएपछि अर्को चरणका लागि दबाबमा आएको नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो । खेलको २० औं मिनेटमा कर्नर बललाई हेडमार्फत अनन्तले जालि चुमाएका थिए ।

पहिलो गोलपछि हौसिएको नेपाली टोलीले आक्रामक प्रदर्शन गरे पनि पहिलो हाफमा गोल थप्न सकेनन् । दोस्रो हाफमा फरक रणनीतिसहित मैदान छिरेका नेपाली खेलाडीले एकपछि अर्को उत्कृष्ट गोल गरे । खेलको ६९ औं मिनेटमा भुटानका खेलाडीले फल गरेपछि पाएको पेनाल्टीमा विमल घर्तिमगरले गोल गर्न सकेनन् तर विमलको ‘मिस बल’ मा सुनिल बलले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए ।

राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेका सुनीलले बाँकी ३ गोलमा महत्वपूर्ण योगदान दिए । खेलको ७७ औं मिनेटमा अन्जन बिष्टको स्थानमा मैदान प्रवेश गरेका भरत खवासले नेपालको अग्रता तेब्बर बनाए । भुटानको कमजोर डिफेन्सको फाइदा उठाउँदै भरतले गोल गरेका थिए । विशाल राईको स्थानमा मैदान प्रवेश गरेका निराजन खड्काले नेपालका लागि ८९ औं मिनेटमा चौथो गोल गरे । ५ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका निराजनले यसअघि पाकिस्तानविरुद्धको खेलमा विमल घर्तिमगलरले गरेको गोलमा बल पास गरेका थिए ।

भुटानविरुद्ध ४–० को फराकिलो जित निकालेको अब समूहको अन्तिम खेल शनिबार आयोजक बंगलादेशसँग हुनेछ । जितपछि नेपालको ३ अंक भएको छ भने भुटान लगातार दोस्रो हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । जितपछि सेमिफाइनलको सम्भावना कायमै राखेको नेपाल अब अन्तिम खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । समूहको अन्तिम खेलमा बंगलादेशविरुद्ध जित निकाले नेपाल सेमिफाइनलमा पुग्नेछ । नेपालले समूहको पहिलो खेलमा पाकिस्तानसँग २–१ को हार बेहोरेको थियो ।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले भुटानविरुद्धको खेलमा नेपाली खेलाडीहरुको कम्बिनेशन राम्रो बनेको र आफूहरुको रणनीतिले काम गरेको बताए । उनले अब आयोजक बंगलादेशसँगको अन्तिम खेलमा पनि नेपाली खेलाडी यही रणनीतिका साथ मैदानमा उत्रिने बताए । त्यस्तै भुटानविरुद्धको जितले नेपाली खेलाडीमा थप उर्जा मिलेको भन्दै उनले बंगलादेशविरुद्ध पनि नेपाली टोली आक्रामक रुपमा मैदानमा उत्रिने बताए । बंगलादेशविरुद्धको खेल नेपाली खेलाडीका लागि सोचेजस्तो सहज भने छैन । र जित्नको विकल्प पनि छैन । नेपाली खेलाडीहरुका लागि अघिल्लो चरण प्रवेशका लागि यो खेल जित्नैपर्ने हुन्छ ।

उपाधि जित्ने लक्ष्यका साथ बङ्गलादेश पुगेका नेपाली टोली अहिलेसम्म साफ च्याम्पियनसिप फाइनलमा पुग्न सकेको छैन । यसअघिका प्रतियोगितामा नेपाल चार पटक सेमिफाइनलमा पुगेको छ । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी सात राष्ट्रको सहभागिता रहेको छ । नेपालसहित बङ्गलादेश, पाकिस्तान र भुटान समूह ‘ए’मा छन् । त्यस्तै भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा छन् ।

च्याम्पियनसिपमा समूहको शीर्ष दुई टोलीले अन्तिम चार भित्र स्थान बनाउनेछन् । नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र नीराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार