Wednesday April 24, 2024 | |

तराईमा हतियारको त्रासः सामान्य विवादमा समेत चल्छ गोली

featured-news

काठमाडौँ– तराईका जिल्लाहरूमा व्यक्तिको हातमा अवैध हतियार पुग्दा समस्या बढ्दै गएको छ । प्रहरीका अनुसार अंशबण्डा, घरझगडा जस्ता सामान्य विवादमा समेत आवेगमा आएर हतियार प्रयोग गरिहाल्ने घातक प्रवृत्ति देखिन थालेको छ ।

प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार प्रदेश २ मा ससाना विवाद, आपसी रिसराग, मदिरा सेवनलगायतका कारण हत्या जस्तो गम्भीर प्रकृतिका घटना समेत हुने गरेका छन् ।

प्रवक्ता राई भन्छन्, ‘विशेष गरी तराई क्षेत्रमा सामान्य घरझगडा, दाइजोको निहुँ अंशबण्डा, लेनदेनजस्ता विषयमा हत्यासम्मको गम्भिर अपराध हुने गरेको देखिएको छ ।’

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर सम्मको ४ महिनामा प्रदेश २ मा ज्यान सम्बन्धी ६२१ वटा मुद्दा दायर भएका छन् । यस अवधिमा ३६ जनाको त हत्या नै भएको छ ।

सामान्य विवादमा गोली प्रहार

प्रहरी अनुसन्धान अनुसार तराईमा सामान्य झगडा र लेनदेन विवादमा अवैध हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटना हुने गरेका छन् । घटनामा कटुवादेखि स्वचालित पेस्तोलसम्म प्रयोग हुने गरेको छ । प्रहरी राई भन्छन्, ‘प्रदेश २ का आठवटै जिल्ला भारतसँग सिमा जोडिएका छन् । खुला सीमाका कारण वारिपारिको सहज सम्बन्धले आपराधिक क्रियाकलाप गर्नेहरूलाई सहज बनाएको छ । यसले सुरक्षा चुनौती समेत बढाएको देखिन्छ ।’

जानकारहरूका अनुसार पनि तराईका जिल्लाहरूमा ससाना विवाद, रिसइबी, समान्य छलफलका क्रममा समेत पेस्तोल देखाउने र गोली हान्ने घटना नौलो होइन । नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल भन्छन्, ‘तराईका जिल्लाहरूमा अवैध हतियारको प्रयोगका कारण हत्याहिंसा जस्ता घटना दोहोरिने गरेका छन् ।’ उनका अनुसार सामान्य झगडा र लेनदेन विवादमा हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा आधुनिक पेस्तोल प्रयोग हुनु डरलाग्दो कुरा हो ।

जानकारहरूका अनुसार पछिल्लो समय यस्तै अवैध हतियारका कारण अपराधका घटनाहरू हुन थालेका देखिन्छ जुन चिन्ताको विषय हो । प्रहरी अनुसन्धान अधिकारीहरूका भनाइमा लुकाउन सजिलो भएकाले साना हतियार नियन्त्रण गर्न सहज छैन ।

विज्ञहरूका अनुसार तराईमा अहिले साना हतियारको भयाबह अवस्था नभए पनि बेलैमा नियन्त्रण गर्नु आवश्यक छ । नत्र, कालान्तरमा साना हतियार समग्र सुरक्षाकै लागि ठूलो चुनौती बन्न सक्छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार