Tuesday July 23, 2019 | |

विश्वकप क्रिकेट : न्यूजिल्याण्ड पराजित, पाकिस्तान सेमिफाइनलमा पुग्ने आशा कायमै

featured-news

बाबर अजमले उत्कृष्ट शतक प्रहार गरेपछि न्यूजिल्याण्डलाई ६ विकेटले पराजित गरी पाकिस्तानले इंग्ल्याण्डमा जारी एकदिवशीय विश्वकपको सेमिफाइनल प्रवेशको आशा कायमै राखेको छ । 

न्यूजिल्याण्डले भने सेमिफाइनलका लागि छनोट हुने अवसर खेर फाल्यो । जारी विश्वकपमा न्यूजिल्याण्डको सातौं खेलमा पहिलो पराजय हो । 

समान ७ खेलबाट न्यूजिल्याण्डको ११ अंक छ भने पाकिस्तानको ७ अंक भएको छ । पाकिस्तानका लागि अफगानिस्तान र बंगलादेशविरुद्धको बाँकी दुई खेलमा जित हासिल गर्नु सेमिफाइनलको दौडमा अनिवार्य हुनेछ । 

न्यूजिल्याण्डले दिएको २३८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले सुरुवाती २ विकेट सस्तैमा गुमाएको थियो । फकर जमान ९ र इमाम उल हक १९ रनमा आउट हुँदा पाकिस्तान ४४–२ को अवस्थामा थियो ।

त्यसपछि बाबर र मोहम्मद अफिजले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । न्यूजिल्याण्डका कप्तान केन विलियमसनको बलमा अनावश्यक शट खेल्ने क्रममा अफिज ३२ रनको स्कोरमा आउट भएपछि आएका ह्यारिस सोहेलसँग मिलेर बाबरले १२६ रनको शतकीय साझेदारी गरे । 

बाबरले १२७ बलमा १०१ रन बनाउने क्रममा ११ चौका प्रहार गरे । सोहेलले ७६ बलमा ५ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । जितका लागि २ रन बाँकी हुँदा उनी रनआउट भएका थिए । 
बलिङमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट, लोकी फर्गुसन र विलियमनसनले १–१ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले मध्यक्रमका कोनिल डी ग्राण्डहोम र जिम्मी निसमको उत्कृष्ट प्रदर्शनमा ६ विकेट गुमाएर २३७ रनको योगफल खडा गरेको थियो । 

पाकिस्तानी किशोर स्पिनर साहिन साह अफ्रिदीले उत्कृष्ट बलिङ गरी सुरुवाती ३ विकेट लिएपछि न्यूजिल्याण्डको पारी सुरुमै लडखडाएको थियो । 

मोहम्मद अमिर र सदाव खानले एक एक विकेट लिँदा न्यूजिल्याण्ड ८३–५ को कठिन स्थितिमा पुगेको थियो । तर, निसम र ग्राण्डहोमले छैटौं विकेटका लागि १ सय ३२ रनको साझेदारी गरेपछि न्यूजिल्याण्डले सम्मानित योगफल बनाएको हो । 

निसमले अन्तिम बलमा छक्का प्रहार गरी ११२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा अविजित ९७ रन जोडे । निसमको यो करिअरकै उत्कृष्ट प्रदर्शन हो । ६४ रन जोडेका ग्राण्डहोमले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार