Friday April 19, 2024 | |

सेन्ट्री बसेका विप्लवका कार्यकर्ता नै प्रहरीका ‘सुराकी’

featured-news

हरीलाई सूचना दिएर दाङको राजापुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ जना नेता पक्राउ गराएको आरोपमा उक्त पार्टीले चार जना आफ्नै कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

पार्टी अनुसन्धानबाट ती कार्यकर्ताले ‘गद्दारी’ गरेको पुष्टि भइसकेको एक केन्द्रीय नेताले सेतोपाटीलाई बताए। ‘अब उनीहरूलाई के-कस्तो कारबाही गर्ने पार्टीले तय गर्छ,’ उनले भने।

ती नेताले दाङको राजापुरमा भएको पार्टी बैठकका लागि सुरक्षामा खटिएका केही कार्यकर्ताले नै प्रहरीका लागि सुराकीको काम गरेपछि नेताहरू पक्राउ परेको जनाए।

राजापुरबाट असोज ३० गते विप्लवका दाजु ‘वीरजंग’ सहित राप्ती ब्युरोका २१ जना माथिल्लो तहका नेता पक्राउ परेका थिए। उनीहरूलाई राजपुरको जंगल क्षेत्रमा एकान्त पर्ने घरमा राति सुतिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो।

विप्लव समूहका ती नेताका अनुसार सुरक्षामा खटिएका केही कार्यकर्ताले नै प्रहरीलाई नेताहरू सुतिरहेको ठाँउसम्म पुर्‍याउन सहयोग गरेका थिए।

‘नेताहरू सुतिरहेको ठाउँको सुरक्षामा एक किलोमिटर टाढासम्म कार्यकर्ता खटिएका थिए,’ ती नेताले भने, ‘सबैभन्दा टाढाको सेन्ट्रीमा बसेको कार्यकर्ता नै प्रहरीको सुराकी परेछ, उसलै नेताहरू सम्म पुग्न अर्कै बाटो देखाइदियो।’

विप्लवका कार्यकर्ता कसरी प्रहरीको सुराकी बन्न पुगे भन्ने प्रश्नमा उनले प्रहरीले सुरूदेखि नै घुसपेठ गरेको आशंका गरे।

‘उनीहरू प्रहरीकै योजनाअनुसार हाम्रो पार्टीमा घुसेको हाम्रो विश्लेषण छ,’ उनले भने।

ती कार्यकर्ता सुरूमा बाँके जिल्लाको नेपाल-भारत सीमा क्षेत्रमा सरसामान तथा लागुपदार्थ ओसारपसार गर्ने गरेको पनि उनले आरोप लगाए।

ती युवालाई पक्रिएर नेकपा विप्लवको सुराकी गर्ने शर्तमा प्रहरीले छाडेको आशंका उनले गरे।

‘उनीहरू लामो समयदेखि हाम्रो सम्पर्कमा थिए। पार्टीले पनि स-सानो जिम्मेवारी दिँदै गयो। उनीहरूले पूरा गर्दै गए,’ उनले भने, ‘पार्टीका आन्तरिक बैठकमा पनि उनीहरूलाई आउजाउको समस्या थिएन।’

त्यसैले तीमध्ये केही युवा असोज ३० गते राजापुरमा राप्ती ब्युरोको बैठक चलिरहँदा नेताहरूको सुरक्षामा खटिएको उनले बताए।

‘सेन्ट्री बसेकै युवाले प्रहरीलाई बैठकस्थल र त्यहाँ कमरेड वीरजंग समेत रहेको भन्ने सूचना दिएका थिए भन्ने अनुसन्धानले पुष्टि भइसकेको छ,’ ती नेताले भने।

प्रहरीले चन्द सुतेकै घरलाई लक्षित गरेर घेरा हालेपछि वरपरको घरमा सुतेका अन्य नेताहरू भाग्न सफल भएको उनले बताए। प्यूठान, रोल्पा, सल्यान र रूकुम जिल्लाका इञ्चार्ज र सेक्रेटरी भाग्न सफल भएको उनको दाबी छ।

ती चार युवाले आफूले सुराकी गरेको स्वीकार गरिसकेको पनि उनले बताए। पार्टीमाथि गद्दारी गर्नेहरूलाई रिपोर्टसहित हेडक्वार्टरमा बुझाइसकेको उनले जानकारी दिए।

‘उनीहरुलाई कस्तो कारबाही गर्ने हेडक्वार्टरले टुंगो लगाउँछ,’ उनले भने। दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले चार युवा विप्लव समूहको नियन्त्रणमा रहेकोबारे जानकारी नआएको बताए।

‘घर परिवार र कतैबाट हालसम्म प्रहरीमा त्यस्तो कुनै जाहेरी परेको छैन। फोनमा समेत कसैले कुनै खालको सूचना दिएको छैन। त्यसैले त्यो हो भन्ने विश्वास लाग्दैन,’ एसपी भट्टराईले भने।

पार्टीको नियन्त्रणमा परेका भनिएका युवाका अविभावकले समेत उनीहरूबारे जानकारी पाएका छैनन्। भूमिगत रूपमै पार्टीमा काम गर्दै आएकाले ती युवा अहिले कहाँ छन् भन्नेबारे परिवारसमेत अनभिज्ञ रहेको विप्लवका नेताले बताए।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार