Tuesday April 23, 2024 | |

बौद्धनाथ स्तुपा पुनर्निर्माणमा करोडौं भ्रष्टाचार, यी हुन् ९ करोड बढी भ्रष्टाचार प्रकरणमा तानिने पदाधिकारी

featured-news

काठमाडौं । बौंद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बौद्धनाथ स्तुपा । काठमाडौंको बौद्धमा रहेको स्तुपा विश्व सम्पदा सुचीमा समेत सुचीकृत छ । विनाशकारी भूकम्प सँगै स्तुपा पनि क्षेती भएको थियो । पछि पुरातात्विक सम्पदा पुनर्निर्माण कार्य सुरु भएसँगै एकदमै द्रुत गतीमा स्तुपाको पुनर्निर्माण भयो । तर, विडम्बना स्तुपा पुनर्निर्माण तोकिएकै समयमा भएपनि पुनर्निर्माणका क्रममा करोडौं रुपैयाँ घोटाला भएको खुलासा भएको छ । केहि समय अघि मात्र महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार स्तुपा पुनर्निर्माणका क्रममा झण्डै ९ करोड रुपैयाँ घोटाला भएको छ । महालेखा परिक्षकको कार्यालयका प्रवक्ता उद्धव श्रेष्ठका अनुसार, स्तुपा पुनर्निर्माणका क्रममा प्रचलित बजार मुल्य अनुसार ८ करोड रुपैंया बराबरको मात्र सून प्रयोग भएको छ । तर बौद्धनाथ क्षेत्र विकास समितिले पुनर्निर्माणका क्रममा १६ करोड ७७ लाख बराबरको सुन प्रयोग भएको देखाएको छ ।
९ करोडको सुन खोइ ?
दलाई लामाको भारतस्थित धर्मशालाका ताइसितु रिम्पोछेले बौद्धको स्तुपा निर्माणका लागि २६ किलो सुन दान दिएका थिए । त्यस्तै विभिन्न दाताहरुले ५ किलो सुन दिएका थिए । त्यो सुन र अरु विभिन्न ब्यक्ति वा संस्थाले दिएको सुन समेत हिनामिना भएको महालेखाको प्रतिवेदनले पुष्टी गरेको छ । महालेखाको प्रतिवेदनमा उल्लेख छ– पुरातत्व विभागको नम्र्स दर विश्लेषण गर्दा प्रतिवर्गफिट एक चौथाइ (१/४) तोला सुन रु.१६ हजार ४५८.६४ का दरले रु ८ करोड २२ लाख ९२ हजार मूल्यको १४ किलो ५८० ग्राम मात्र खपत हुनसक्नेमा ३१ किलोग्राम खपत देखाएकोले बढी खपत देखिएको १६ किलोग्राम ४२० ग्रामको हुने मूल्य रु ८ करोड ८८ लाख ८ हजार बढी खर्च गरेको मनासिब देखिएन । यसमा छानबिन हुनुपर्दछ ।
यता बौद्धनाथ क्षेत्र विकास समितिले भने महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनलाई झुटो रहेको दाबी गरेको छ । स्तुपा मर्मतका क्रममा हुने खर्चका सम्वन्धमा पुरातत्व विभागसँग निरन्तर समन्वय गरिएको र स्तुपा मर्मतका क्रममा लागेको ३१ किलो सुन सबै गुरु ताई सितुपा रिपोन्छेले सहयोग गरेको समितिका तत्कालिन अध्यक्ष सम्पुर्ण लामाको दाबी छ । त्यस्तै काठ, सुन, ज्याला तथा अन्य निर्माण सामाग्रीको मुल्यका कारण अनुमानित लागत भन्दा बढी खर्च भएको भन्दै समितिले आफ्नो बचाउ गरेको छ ।
त्यसो त बौद्धनाथ स्तुपा निर्माणमा सुन मात्र दुरुपयोग भएको छैन, अन्य शिर्षकमा समेत मनलागि रुपमा खर्च गरिएको छ । स्तुपा निर्माण, सार्वजनिक खरिद ऐन अनुसार टेण्डर गरी प्रतिस्पर्धाबाट गराउनु पर्नेमा त्यसो नगरी भ्रष्टाचार गरेको महालेखाको ठहर छ । प्रतिवेदनमा भनिएको छ– बौद्ध महास्तुप पुन: निर्माण गर्न रु.१२ करोड ४६ लाख ७ हजारको लागत अनुमान स्वीकृत भएकोमा समितिका अध्यक्ष सम्पूर्णकुमार लामा र कार्यकारी निर्देशक फुबुयाङ्जी लामाले दुई सदस्य र कर्मचारीबाट अमानतबाट काम गराई रु.२१ करोड ९८ लाख ४८ हजार मा कार्य सम्पन्न गरेका छन् । यो लागत अनुमान भन्दा ७६.४३ प्रतिशत बढी हो ।
को को तानिदै छन् स्तुपा पुनर्निर्माण भ्रष्टाचार प्रकरणमा ?
बौद्धनाथ क्षेत्र विकास समितिका सदस्य चक्रजित लामा, वसन्त लामा, चमेली लामासमेत छानबिनमा तानिने भएका छन् । सम्पूर्णकुमार लामासहितको समितिका पदाधिकारीको म्याद स्तुपा पुनिर्माणपछि सकिएको छ । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २७(१) मा कुनै पनि विदेशीदाताबाट जिन्सी सहयोग प्राप्त गर्दा राष्ट्रिय योजनाआयोगको परामर्श लिई अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्छ । तर, यहाँ यो नियमको समेत खिल्ली उडाउने काम भएको छ । महालेखाले लेखापरीक्षणका क्रममा विदेशीले दिएको सुन र नगदको एकीन विवरण पेश गर्न बौद्धनाथ क्षेत्र विकास समितिलाई ध्यानाकर्षण समेत गराएको छ । अब भने महालेखाको प्रतिवेदन सँगै स्तुपा निर्माणमा भएको भ्रष्टाचारमा कारवाही अघि बढाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सहज भएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार