Tuesday March 21, 2023 | |

नक्सा पासबिनै भवन

featured-news

काठमाडौंं । बागलुङ बजारमा ठूला घर तथा भवन निर्माण भइरहेका छन् । भवन निर्माण गर्दा भवनसंहिता अनुसार निर्माण गर्नुपर्छ । तर यहाँ निर्माण भइरहेका धेरै सरकारी तथा निजी भवनसंहिता विपरीत निर्माण भएको पाइएको छ ।

बागलुङमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय छ । यस कार्यालयको काम भवनसंहिता हेर्ने, गुणस्तर मापन गर्ने र निर्माणको अनुगमन गर्नु हो । तर कार्यालयकै भवन नगरपालिकाबाट नक्शा पास नगराई चार तला ठड्याइसकेको छ । भवन बनाउँदा पालिकालाई जनाकारीसमेत दिइएको छैन । तर कार्यालय प्रमुख सुनिता श्रेष्ठले भने राष्ट्रिय भवन मापदण्ड अनुसारनै भवन निर्माण गरिरहेको जिकिर गर्छिन । प्रमुख श्रेष्ठ भन्छन , “हाम्रै इञ्जिनीयरले नाप जाँच गरेर भवन बनाउन थालेका हौँ, भवनको सबै डकुमेन्ट बनेको छ, सबै ठाउँबाट स्वीकृत भएको छ, यही कार्यालयले पनि अनुगमन गर्ने, मापदण्ड पालना गराउने गर्छ, भवन निर्माणसंहिता र आफ्नै मापदण्ड अनुसार बनाएको हुँदा नक्शा पास गरिएन, यसलाई इस्यु बनाउनुपर्ने आवश्यक छैन

श्रेष्ठ नक्शा पासको काम निर्माण कम्पनीले नगरेको दोष लगाउँनुहुन्छ । आफै नियम पालना गराउने ठाउँमा भएको व्यक्तिले अरुलाई दोष लगाउनु उचित नभएको स्थानीयवासी बताउँछन् । बागलुङ नगरपालिकाका इञ्जिनीयर त्रिलोचन गिरीले भवन बनाउँदा जुनसुकै कार्यालयले पनि नगरपालिकाबाट नक्शा पास गर्नुपर्ने बताए ।

इञ्जिनीयर गिरीले सघन सहरी तथा भवन निर्माण कार्यालयले भवन बनाउँदा नगरपालिकालाई एक पटक पनि जानकारी नगराएको बताए । उनि भन्छन , “सबै निकायले भवन बनाउँदा नगरपालिकाको अनुमति लिनुपर्ने हुन्छ, नगरपालिकाको विधि, नियम र मापदण्ड अनुसार गर्नुपर्छ, उनिहरुलेअरुलाई निर्देशन दिने ठाउँमा हुनुहुन्छ तर आफ्नै भवन बनाउँदा नियम मिचेको पाइयो ।”


गिरीले कुनै पनि घर भवन बनाउँदा नक्शा पास गरेर मात्रै जग खन्नुपर्ने बताए । जिल्ला प्रशासन कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालयले पनि नक्शा पास नगरेको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले केही महिनादेखि नयाँ भवन बनाउँदै छ भने जिल्ला प्रशासन कार्यालय चार वर्ष अगाडि निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।

बागलुङ नगरपालिकाले पाँच तलाभन्दा माथिको भवन बनाउन नपाइने नियम बनाएको छ । तर पछिल्लो समय नियम विपरीत तला थप्ने बढ्दै गएको इञ्जिनीयर गिरी बताए । बजार क्षेत्रमा अहिले करिब १०० घर भवन मापदण्ड विपरीत रहेका छन् । उनीहरुलाई नियमानुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ । बागलुङ बजारमा चार हजार घरले नक्शा पास गराएका छन् ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार