Tuesday March 19, 2024 | |

प्रधानमन्त्रीका दाबेदार धेरै

featured-news

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगिरहँदा प्रमुख राजनीतिक दलहरूबीच नयाँ सरकार गठनका सन्दर्भमा गहन छलफल सुरु भएको छ । चुनावी परिणामको रुझानअनुसार त्रिशङ्कु संसद् बन्ने निश्चित देखिएपछि दलहरूभित्र सरकारको नेतृत्व र सहभागिताबारे आन्तरिक र बहुपक्षीय छलफल आरम्भ भएको हो ।

सत्ता साझेदार राजनीतिक दलका शीर्ष नेता नयाँ सरकार गठनका सन्दर्भमा गहन संवादमा जुट्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच चुनावी परिणामको समीक्षासँगै नयाँ सरकार गठनबारे छलफल भएको छ । कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार सत्ता साझेदार दलका शीर्ष नेताहरू गठबन्धनलाई निरन्तरता दिन सहमत भएको र शीर्ष नेताहरू अब निरन्तर छलफलमा जुट्ने बताउनुभयो ।

यसैगरी पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नयाँ सरकार गठन र गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको छ । कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा दुई नेताको भेटमा उच्च समझदारीका साथ गठबन्धनलाई अघि बढाउने विषयमा संवाद भएको छ । नेता पौडेलले भन्नुभयो, “माधवजी पनि गठबन्धनलाई निरन्तरता दिने र सरकार गठनका लागि छलफल अघि बढाउन सहमत हुनुहुन्छ ।” उहाँका अनुसार सरकारको नेतृत्व, मन्त्रिपरिषद्मा सहभागितासहित समसामयिक विषयमा पनि दुई नेताबीच छलफल भएको छ ।

सहमतिमै सरकारको नेतृत्व

कांग्रेस महामन्त्री गगनकुमार थापा र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गठबन्धनभित्रको सहमतिकै आधारमा सरकार गठन हुने बताउनुभयो । महामन्त्री थापाले भन्नुभयो, “निर्वाचनअघिको गठबन्धन जस्ताको तस्तै जान्छ । सरकार पनि गठबन्धन भित्रकै समझदारीमा बनाउने हो ।” उहाँले चुनावी परिणाम सोचेकोभन्दा केही कम आए पनि बहुमत पु(याउन अन्य राजनीतिक दल र स्वतन्त्र सांसदहरूसँग विभिन्न चरणमा छलफल भइरहेको बताउनुभयो ।

महासचिव गुरुङले सहमतीय सरकार गठनका लागि शीर्ष नेताहरूबीच छलफल सुरु भए पनि निर्वाचनको अन्तिम परिणाम आएपछि यस विषयमा औपचारिक निर्णयमा पुग्ने गरी परामर्श हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै परिणाम आएपछि आन्तरिक बैठक बस्छन् । गठबन्धनमा छलफल सुरु हुन्छ । अनि गठबन्धनले सरकार गठनको औपचारिक निर्णय गर्नेछ ।”

नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सहमतिकै आधारमा सरकार गठन गर्नुपर्नेमा आफ्नो पार्टीको जोड रहने बताउनुभयो । उहाँले निर्वाचनको अन्तिम परिणाम आइसकेपछि सरकार गठनका विषयमा छलफल अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा कुराचाहिँ तय हो, जनताले यस पटकको निर्वाचनबाट तीन दलहरू एकअर्कालाई निषेध गरेर होइन, मिलेर देश र जनताका लागि काम गर भनेर आदेश दिएका छन् ।”

‘कांग्रेसकै नेतृत्वमा सरकार’

महामन्त्री थापाले पहिलो दलको हैसियतमा कांग्रेसले नै सरकारको नेतृत्व गर्ने बताउनुभयो । उहाँले सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय संसदीय दलले निर्णय गर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “कांग्रेसले सरकारको नेतृत्व गर्ने कुरामा कतै अल्मलिनुपर्ने अवस्था रहेन, यो स्वाभाविक छ । सरकार नेतृत्व कसले गर्ने भन्ने कुरा संसदीय दलमा भएको निर्वाचनपछि टुङ्गो लाग्छ ।”

कांग्रेसका सभापतिसमेत रहनुभएका प्रम देउवाको दाबी सरकारको नेतृत्वका लागि रहन्छ । पार्टी नेतृत्वको हैसियत र गठबन्धनलाई निरन्तरता दिनुभएका प्रधानमन्त्री देउवाले पुनः सरकारको नेतृत्व गर्ने तयारी गरिरहनुभएको छ ।

कांग्रेस महामन्त्री थापाले पनि संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने र विजयी भए प्रधानमन्त्रीको दाबी गर्ने घोषणा गरिसक्नु भएको छ ।

वरिष्ठ नेता पौडेलसँगै पूर्वमहामन्त्रीद्वय डा। शशाङ्क कोइराला र प्रकाशमान सिंह तथा नेता डा। शेखर कोइरालाले प्रधानमन्त्री पदका लागि आकाङ्क्षा व्यक्त गर्नुभएको छ ।

‘प्रचण्डको दाबी स्वाभाविक’

माओवादी केन्द्रका महासचिव गुरुङले प्रधानमन्त्रीमा पार्टी अध्यक्ष प्रचण्डको दाबी स्वाभाविक रूपमा रहने बताउनुभयो । उहाँले विचार, नीति र राजनीतिक लाइनका आधारमा प्रचण्डले सरकारको नेतृत्वमा दाबी गर्ने बताउनुभयो ।

एमालेमा ओली सर्वसम्मत

एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको नेतृत्व गर्ने घोषणा चुनावअघि नै गरिसकेको छ । ‘मङ्सिर चार ओली सरकार’ नारा नै दिएर चुनावमा गएको एमालेमा उहाँलाई कुनै नेताले चुनौती दिने सम्भावना पनि छैन । उपाध्यक्ष नेम्वाङका अनुसार सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आएमा ओलीले नै नेतृत्व गर्नुहुनेछ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार