Thursday April 18, 2024 | |

देउवाको टिप्पणी, 'नीति तथा कार्यक्रम नारामै सीमित'

featured-news

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रम नारामै सीमित रहेको भन्दै सरकारको आलोचना गरेका छन् । छलफलका लागि आइतबार प्रतिनिधिसभामा पेस भएको नीति, कार्यक्रममा संशोधन प्रस्ताव राख्दै देउवाले सरकार अनुदार ढंगले अघि बढेको र कुनै ठोस योजनाबिना नीति तथा कार्यक्रम ल्याइएको दाबी गरे । उनले नीति, कार्यक्रममा नयाँ योजनाको साटो पहिलेकै योजनाहरु प्रस्तुत गरिएको बताए। सभापति देउवाले लाखौंलाई रोजगारी दिने गत वर्षको योजनाको कुनै समीक्षा बिना सरकारले फेरि पपुलिस्ट नारा नीति कार्यक्रममा दोहोर्‍याएको आरोप लगाए। नीति, कार्यक्रममाथिको टिप्पणीकै क्रममा उनले सरकार कार्यशैलीप्रति असन्तुष्टि पोखे। वर्तमान सरकार बनेपछि देशमा हत्या, हिंसा र तस्करी बढेको देउवाले बताए। उनले मुलुकमा भ्रष्टाचार बढेको विषय पनि महालेखाको प्रतिवेदनले पनि देखाइसकेको उल्लेख गरे।


सरकारले लगानी सम्मेलन गरे पनि विदेशी लगानी भित्रिने सम्भावना र परिस्थिति नरहेको उनले दाबी गरे। सरकारले परराष्ट्र नीतिमा सन्तुलन ल्याउन नसकेको आरोप लगाउँदै राष्ट्रपति जस्तो गरिमामय संस्थालाई पटक पटक विवादमा ल्याउने काम गरिएको भन्दै आपत्ति जनाए। संघीय संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले 'मेरो सरकार' शब्दावली प्रयोग गरेको विषय कोट्याउँदै देउवाले बेलायती महारानी जसरी नीति कार्यक्रम प्रस्तुत गर्न लगाएको टिप्पणी गरे।

राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७६/०७७ का लागि शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। सरकारको नीति तथा कार्यक्रममा अहिले सांसदहरुले धारणा राखिरहेका छन्।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार