Thursday April 25, 2024 | |

सगरमाथामा शेर्पाको रहस्यमय मृत्यु

featured-news

३० वैशाखदेखि सुरु भएको यस वर्षको सगरमाथा आरोहण ११ जेठमा आएर टुंगिएको छ । यो याममा ४ सयभन्दा बढीले आरोहण गरेको तथ्यांक नेपाल सरकारले सार्वजनिक गरेको छ ।  चार युक्रेनी नागरिक र एक शेर्पासहितको एउटा आरोहणको प्रयोजनका बारेमा भने सरकार बेखबर छ ।

त्यही आरोहण दलका गाइड ४५ वर्षीय लामबाबु शेर्पाको मृत्यु त झनै रहस्यपूर्ण छ । बेलायती पत्रिका फाइनान्सियल टाइम्सले शेर्पाको मृत्युलाई लिएर शंका प्रकट गरेको छ । पर्वतारोही तथा सगरमाथा आरोहणमाथि ब्लग लेख्दै आएका अमेरिकी नागरिक एलेन आरनेटले शेर्पाको मृत्युलाई रहस्यमय बताएपछि पत्रिकाले थप अनुसन्धान गरेको हो । ‘४५ वर्षीय शेर्पालाई स्नो ब्लाइन्डनेस हुनु आफैंमा आश्चर्यको कुरा हो साथै त्यस्तो बेला उनको सहयोगमा कोही नहुनु बुझ्न नसकिएको कुरा हो,’ आरनेटले लेखेका छन् ।

आरनेटको उक्त टिप्पणी सार्वजनिक भएपछि गत शुक्रबार बेलायती पत्रिका फाइनान्सियल टाइम्सले ‘अ क्रिप्टो स्टन्ट गन ट्याजिकल्ली रङ’ भनेर लेखेको थियो । पत्रिकाले सगरमाथाको शिखरमा ५० हजार डलर मूल्य बराबरको क्रिप्टोकरेन्सी अर्थात् डिजिटल मुद्राको हार्डडिस्कलाई गाड्नेजस्तो मूखर्तापूर्ण प्रचारबाजीले शेर्पाको ज्यान गएको उल्लेख गरेको छ । आरोहण दलका सदस्यले उनलाई स्नो ब्लाइन्डनेस भएको र पछि बाटो बिराएका कारण मृत्यु भएको दाबी गरेका थिए । युक्रेनको सामाजिक सन्जाल कम्पनी आस्कएफमले आरोहण दलको प्रायोजन गरेको थियो । जबकि नेपालमा बिटक्वाइनलगायतका क्रिप्टोकरेन्सीको कारोबार र प्रचारपसार गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको छ । उक्त आरोहण टोली सेभेन समिट ट्रेक्समार्फत् गएको थियो ।

त्यसैगरी आस्कएफमले सार्वजनिक गरेको प्रबद्र्धनात्मक भिडियोमा आरोहणका लागि दुई महिनादेखि तयारी गरिएको उल्लेख छ । उक्त भिडियोमा शिखरमा पुगेपछि चारमध्येका एक युक्रेनियन टारास पोड्जनीले क्रिप्टोकरेन्सीका दुईवटा हार्डड्राइभ देखाउँछन् । दुवैमा गरी १० लाख डलर मूल्य बराबरको भच्र्युल मुद्रा रहेको उनी बताउँछन् । दुई हार्ड ड्राइभमध्ये एउटालाई उनी सगरमाथाको चुचुरोमै हिउँमा गाडिदिन्छन् । र, आस्कएफमले राखेको प्रबद्र्धनात्मक भिडियोमा आरोहीले भनेका छन्, ‘आउनुस् सक्नुहुन्छ भने यो बिट क्वाइन लिएर जानुस् ।’ ५० हजार डलरको अर्को प्याकेट उनी आफैंसँग तल लिएर जाने र प्रतिस्पर्धा गरेर जोसुकैले पनि लिन पाउने घोषणा गर्छन् । उनको भनाइबाट सगरमाथाको चुचुरोमा पुगेर फर्किएको विद्युतीय मुद्रालाई बढी मूल्यमा बढाबढ गर्ने उद्देश्य राखेको बुझिन्छ साथै नकारात्मक भए पनि बढी प्रचारमा ल्याएको खण्डमा यस्ता मुद्राको भाउ बढी रहने गरेको पाइन्छ ।

सगरमाथा शिखरमा क्रिप्टोकरेन्सीको एउटा प्याकेट गाड्ने पोड्जनीले आफ्नो फेसबुकमा पनि शेर्पाको मृत्युको प्रस्ट कारण दिन सकेका छैनन् साथै शेर्पाका सम्बन्धमा थप पोड्जनीसँग सोध्दा उनले आफूलाई थाहा नभएको बताएको पत्रिकाले उल्लेख गरेको छ । ‘उनी हामीभन्दा पछाडि थिए, त्यसैले उनलाई के भयो हामीलाई थाहा भएन । हामी अलि चाँडै गइरहेका थियौं तर, उनी सँगै थिएनन् । हामीभन्दा पछाडि थिए, त्यसैले उनलाई देखेनौं,’ पोड्जनीलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्स्ले लेखेको छ । त्यसैगरी प्रायोजक आस्कएफमले पनि शेर्पाको मृत्युबारेमा अनभिज्ञता प्रकट गरेको छ । ‘उनको पछिल्लो अवस्थाका बारेमा हामीलाई थाहा भएको भनेको उनी हराएपछि अन्य शेर्पा खोज्न गएको भन्ने मात्र हो,’ आस्कएफमका प्रमुख कार्यकारी अधिकृत म्याक्स स्यार्कलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ,’ त्यसपछि के भयो, हामीलाई केही जानकारी छैन ।’ एक नेपाली सरकारी अधिकारीले पनि शेर्पाको मृत्यु रहस्यमयी भएको र आरोहण दलका सदस्यले सहयोग नगरेको प्रस्ट भएको बताए ।

ब्लगर आरनेटले शेर्पाको मृत्युलाई निकै रहस्यमयी बताएका छन् । सगरमाथा आधार शिविरमा रहेका संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले शेर्पालाई स्नो ब्लाइन्डनेस भएको र हराइरहेको बताएको आरनेटले उल्लेख गरेका छन् । तर, दोस्रो क्याम्पमा रहेको उद्धार टोलीलाई घटनाबारे केही जानकारी नहुनुलाई पनि उनले रहस्यमय बताएका छन् । ‘म यो दु:खद् घटनाबारे विस्तृत जानकारीको पर्खाइमा रहनेछु,’ आरनेटले १९ मेमा पोस्ट गरेको आफ्नो ब्लगमा लेखेका छन् । अन्तर्राष्ट्रिय बजारमा भच्र्युल मुद्राको भाउ स्वात्तै घट्न थालेपछि यस किसिमको प्रबद्र्धनात्मक कार्यक्रम गरिएको अनुमान गरिएको छ । २०१८ को अन्त्यसम्ममा बजारमा ल्याउने तयारीमा रहेको भच्र्युल मुद्राको सार्वजनिक निष्कासनमा राम्रो मूल्य निर्धारण होस् भनेर यस्तो उदेकलाग्दो कार्यक्रम ल्याएको भन्ने कम्पनीको दाबीले पनि त्यसलाई पुष्टि गर्छ ।

सन् २०१७ को अन्त्यमा एक बिटक्वाइनको मूल्य २० हजार डलर नाघेको थियो । तर, त्यसको दुई महिनाभित्रै घटेर ६ हजार डलरमा आइपुग्यो । यसले लगानीकर्ताको विश्वास कमजोर हुँदै आएको विश्लेषण गरिएको छ । लगानीकर्ताको विश्वास फर्काउन यस किसिमको हथकण्डा गरिएको र त्यसले अनाहकमा एक अनुभवी शेर्पाको ज्यान गएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।

‘सगरमाथामा के भयो, थाहा छैन’
सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले भने ४ युक्रेनी नागरिक लिएर सगरमाथा उक्लिएका लामबाबुबारे विदेशी सञ्चार माध्यममा आएका विषयमा आफू अनभिज्ञ रहेको बताए । ‘चुचुरोबाट फर्किंदै गर्दा हिलारी स्टेपमा लामबाबु हराएका थिए । उद्धारका लागि शेर्पाहरू पठाइयो तर शव फेला परेन,’ उनले भने, ‘सगरमाथामा केके भयो, मलाई केही थाहा छैन ।’

कुनै जानकारी छैन : मन्त्रालय
संस्कृति, नागरिक तथा पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटाले यसबारे कुनै जानकारी नभएको बताए । ‘अवाञ्छित उद्देश्यका लागि हो भन्ने थाहा भएको भए आरोहण अनुमति दिँदैनथ्यौं । जहाँसम्म शेर्पाको मृत्युको कुरा छ, त्यसमा अहिलेसम्म कसैको लापरबाहीका कारण भएको भन्ने जानकारी आएको छैन । शेर्पाहरू आफैं पनि पथप्रदर्शक भएकाले त्यसको सम्भावना निकै कम छ,’ सचिव देवकोटाले  भने । - कान्तिपुर

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार